
उत्तरी नाइजेरियामा भएको एक विस्फोटमा एक सय ४० भन्दा बढी मानिसको मृत्यु भएको छ । उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै पीडितको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार इन्धन ट्याङ्करले अर्को सवारी साधनलाई बचाउन खोज्दा मङ्गलबार जिगावा राज्यको माजिया शहरमा दुर्घटनाग्रस्त भएको थियो ।
प्रहरी प्रवक्ता लवान शिइसु आदमका अनुसार, दुर्घटना पछि स्थानीय बासिन्दाहरू ट्याङ्कर वरिपरि भेला भएर सडक र नालीमा चुहिएको इन्धन सङ्कलन गर्दै थिए ।
राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी (एनइएमए) का प्रवक्ता नुरा अब्दुल्लाहले एक सय ४० भन्दा बढी मानिस’ लाई सामूहिक चिहानमा गाडिएको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताए ।