
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठकमा शान्ति प्रक्रियाको थप कामलाई अघि बढाउने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको बैठकमा शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार शान्ति प्रक्रियाको भावना र कानूनी प्रक्रियालाई बुझ्ने खालका व्यक्तिलाई पदाधिकारी बनाउनुपर्ने विषयमा पनि छलफल भएको छ ।
'एक/दुई दिनभित्र सिफारिस समितिलाई पूर्णता दिने विषयमा छलफल भएको छ, सिफारिस समितिले पूर्णता पाएपछि आयोगमा पदाधिकारी सिफारिस हुन्छ,' बैठकपछि उनले भने, 'शान्ति प्रक्रियाको भावना र कानूनी प्रक्रियालाई बुझ्ने खालका व्यक्तिको आयोग बनोस् भन्ने सबैको चाहना छ तर कस्तो व्यक्ति पठाउने दुई आयोगमा भन्ने कुरा सिफारिस समितिले गर्नेछ ।'
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गर्न अघिल्लो सरकारले सिफारिस समिति बनाएको थियो ।
गत भदौ १३ गते राष्ट्रपतिबाट दुवै आयोगसम्बन्धी कानूनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण भएको थियो ।
बैठकमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव बस्नेत र महान्यायाधिवक्ता रमेश बडाल सहभागी थिए ।