
सुपर ओभरमा बाजी मार्दै नेपालले अमेरिकाविरुद्धको टी–२० क्रिकेट श्रृंखलाको उपाधि जितेको छ ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा आइतवार बिहान भएको दोस्रो खेलमा पनि विजयी भएसँगै नेपालले एक खेलअगावै श्रृंखलाको उपाधि जितेको हो ।
तीन खेलको टी–२० श्रृंखलाअन्तर्गत नेपालले पहिलो खेलमा शुक्रवार अमेरिकालाई १७ रनले पराजित गरेको थियो । यससँगै नेपालले श्रृंखला २–० ले जितेको छ । अब यी दुई टोलीबीच तेस्रो खेल हुँदैछ । त्यसको नतिजाले फरक पार्ने छैन ।
आइतवार नेपाल र अमेरिकाबीचको दोस्रो खेल रोमाञ्चक बराबरीमा सकिएपछि नतिजाका लागि सुपर ओभरमा जानु परेको हो ।
सुपर ओभरमा नेपालका सोमपाल कामीले उत्कृष्ट बलिङ गरे । उनले सुपर ओभरको पहिलो २ बलमा २ रन मात्र दिए । सोमपालले त्यसपछि २ बलमा शयान जहाँगिरलाई बोल्ड र आरोन जोन्सलाई क्याच आउट पारे ।
अमेरिकाले मात्र २ रन बनाएका कारण नेपालले मात्र ३ रनको लक्ष्य पायो । त्यसलाई कप्तान रोहित पौडेल र कुशल भुर्तेलले सजिलै पूरा गरे । रोहितले २ तथा कुशलले १ रन जोडे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले विष्फोटक ब्याटिङ गर्दै ३३ बलमा अर्धशतक बनाए । उनी शतक बनाउनबाट ८ रनले टाढा रहे । उनले ५४ बलमा अविजित ९२ रन बनाएका हुन् ।
यस्तै ओपनर अनिल साहले २५, गुल्शन झाले १९ र कप्तान रोहित पौडेलले १८ रन जोडे ।
एक सय ७१ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७० रन नै जोडेपछि खेल रोमाञ्चक बराबरीमा टुंगिएको हो ।
निर्धारित २० ओभरमा नेपालका लागि करण केसीले ३, सोमपाल कामीले २ तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिएका थिए ।