
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा एमालेको सचिवालय बैठकले पार्टी कार्यालय निर्माणको विषयमा पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
आइतबार साँझ बसेको बैठकले नेता भीम रावल, स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई दान दिएको जग्गाको विषयमा पार्टी निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय भएको बैठकपछिको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले जानकारी दिए ।
पार्टी कार्यालय निर्माणका लागि कानून सम्मत नै जग्गा स्वीकार गरिएको उनले बताए ।
००००
नेकपा एमालेले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनको चरणमा रहँदा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका बताएको छ ।
पार्टीको केन्द्रीय सचिवालयको ३९औं बैठकले गरेको निर्णयबारे जानकारी दिने क्रममा आइतबार साँझ महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् ।
रवि लामिछाने पक्राउबारे राखिएको जिज्ञासामा उनले प्रतिवेदनले इङ्गित गरेका व्यक्तिहरू छानबिनको दायरामा आउनुपर्ने बताए ।
बैठकमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले रवि पक्राउका सन्दर्भमा रास्वपाका नेता कार्यकर्ताले देखाएको रवैयाप्रति असन्तुष्टि जनाएका थिए ।
उनले रास्वपाका नेता कार्यकर्ताले राजनीतिक व्यवहार र संस्कार नदेखाएको टिप्पणी गरेका थिए ।
००००
सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्न अदालतले ६ दिनको अनुमति दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्नका लागि अनुमति माग गर्दा अदालतले ६ दिनको अनुमति दिएको हो ।
यसैबीच लामिछानेले कानूनलाई सघाउन अदालत आएको बताएका छन् ।
प्रहरीले म्याद थपका लागि कास्की जिल्ला अदालत ल्याएपछि रविले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको सो क्रममा कडा आलोचना गरेका थिए ।
००००
सहकारी ठगी र संगठित अपराधसम्बन्धी अभियोगमा अनुसन्धान गर्न कास्कीको पोखरा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्ष र विपक्षमा आइतबार दिनभरजसो प्रदर्शन चल्यो ।
कास्की जिल्ला अदालतनजिकै शहीद चोकमा रविका समर्थक र राष्ट्र बैंक चोकमा सहकारीपीडितले प्रदर्शन गरेका थिए । जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयअगाडि बिहानैदेखि रास्वपा कार्यकर्ताहरूको भीड थियो ।
००००
एमाले सचिवालय बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबिच भेटवार्ता भएको हो।
एमाले स्रोतका अनुसार आज बसेको सचिवालय बैठकबाट ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनका लागि म्यान्डेट लिएका छन्। सोही अनुसार ओलीले छलफलका लागि देउवालाई बोलाएको स्रोतको भनाइ छ ।
००००
नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले राष्ट्रिय र अन्तर्राष्ट्रिय भलिबल खेलबाट सन्यास लिएका छन् । एक श्रव्यदृश्य सन्देश सार्वजनिक गर्दै कप्तान श्रेष्ठले धेरै सोच विचार गरेर राष्ट्रिय टोली र अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको बताए। नेपाल भलिबल सङ्घले उनलाई गत वर्ष साउनमा राष्ट्रिय भलिबल टोलीको कप्तान पदमा नियुक्त गरेको थियो ।
००००
पशुपति गौशाला धर्मशालाको विवादका बारेमा छलफल गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को आइतबार डाकिएको बैठक स्थगित गरिएको छ ।
धर्मशाला सञ्चालनका विषयमा पछिल्लो समय आएका विवादका बारेमा छलफल गर्न कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको आह्वानमा आजको बैठक डाकिएको थियो ।
००००
राष्ट्रिय परीक्षा बोर्डले आइतबार सार्वजनिक गरेको कक्षा १२ को मौका परीक्षामा सबैभन्दा बढी अङ्ग्रेजी विषयमा विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको सार्वजनिक नतिजाअनुसार ५७ हजार ६ सय ९० जनाले अङ्ग्रेजी विषयको परीक्षा दिएकामा १७ हजार नौ सय ४२ जना अनुत्तीर्ण भएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।
००००
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ ।
निर्देशक समितिको बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी नियमनकारी निकायहरूले अनुसन्धान र अभियोजनको विषयलाई तीव्र पार्ने निर्णय गरेको हो ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४७ अङ्कले घटेको छ । साताको पहिलो कारोबारका दिन नेप्से परिसूचक ४७.४४ अङ्कले घटेर २६९७.९१ को विन्दुमा अडिएको हो ।