०९ असार २०८३, मंगलबार

हिरासतमा रहेका भूदेउ हत्या प्रकरण : दोषीलाई कारबाही नगरेको भन्दै प्रशासनमा निवेदन

कात्तिक ५, २०८१
खोटाङ
हिरासतमा रहेका भूदेउ हत्या प्रकरण : दोषीलाई कारबाही नगरेको भन्दै प्रशासनमा निवेदन

हिरासतबाट भाग्नेक्रममा प्रहरीको कुटपिटबाट ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका थुनुवा भूदेउ भनिने १८ वर्षीय किरण राईको परिवारले दोषीमाथि कारबाही तथा मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङमा निवेदन दिएका छन् । 

ज्यान मुद्दामा विसं २०७० जेठ २८ गते पक्राउ परेका भूदेउको विसं २०७० असार–२६ गते जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतबाट भाग्ने क्रममा प्रहरीको कुटपिटबाट मृत्यु भएको हो । 

राष्ट्रिय मानवअधिकार आयोगले सो घटनामा प्रहरी अधिकृतसहित ११ जनालाई कारबाही गर्न र पीडित परिवारलाई रु तीन लाख क्षतिपूर्ति दिन विसं २०७० भदौ १६ गते सरकार समक्ष सिफारिस गरेको थियो । कुटपिटबाट थुनुवाको मृत्यु भएको घटनामा मानवअधिकार आयोगले तत्कालीन प्रहरी नायब उपरीक्षक राजिव बस्नेत र प्रहरी निरीक्षक रमेश देवलाई विभागीय कारबाही तथा प्रहरी नायब निरीक्षकहरु महेन्द्र खत्री र मुकुन्दप्रसाद विडारी, प्रहरी हवल्दार सुरेशप्रसाद यादव, प्रहरी जवानहरु नकुल राई, रामकुमार बोगटी, कैलाश खत्री, चन्द्र खड्का, देवराज माझी र नारायण खड्कालाई मुलुकी ऐन ज्यानसम्बन्धी महल बमोजिम कारबाही गर्न सिफारिस गरेको थियो । 

    आयोगले सिफारिस गरेको ११ वर्ष बित्दासमेत जिल्ला प्रहरी कार्यालय खोटाङले दोषीमाथि कारबाहीको कुनै पनि प्रक्रिया अगाडि नबढाएकाले आज (सोमबार) जिल्ला प्रशासन कार्यालय खोटाङलाई निवेदन दिएको मृतकका आफन्त (काका) रञ्जिव राईले बताए । 

salt training

कमेन्ट गर्नुहोस्