
युक्रेन– युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहाले युक्रेन र रुसबीचको युद्ध अन्त्य गर्ने योजनामा समर्थन जुटाउन बुधवार अफ्रिकी देशहरू र ओमानको भ्रमण शुरू गरेका छन् ।
युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीले युद्व अन्त्यको विजय योजना सार्वजनिक गरेसँगै नेटोको तत्काल सदस्यताका लागि आह्वान गरेपछि ओमान, एङ्गोला, इजिप्ट र दक्षिण अफ्रिकाको भ्रमण अभियान शुरू भएको हो ।
बुधवारदेखि आगामी सोमवारसम्मलाई तय भएको सिबिहाको भ्रमणले शान्ति सूत्रलाई बढावा दिने, राजनीतिक संवादको विकास गर्ने, युक्रेनका लागि मानवीय तथा ऊर्जा सहयोगलाई सुदृढ पार्ने, व्यापार र आर्थिक सहयोगको विकास गर्ने विदेश मन्त्रालयले जनाएको छ ।
गत जुनमा लगभग ८० वटा देशले जेलेन्स्कीको प्रस्तावित १० सूत्रीय ‘शान्ति सूत्र’ लाई समर्थन गरेका थिए । जसमा युक्रेनी क्षेत्रीय अखण्डतालाई सम्मान गर्दै रुसी सेनालाई युक्रेन छोड्न आह्वान गरिएको थियो । युक्रेनले यस एजेन्डालाई समर्थन गर्न थप देशहरूलाई आग्रह गर्दै आएको छ ।
सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेदेखि किभले अफ्रिका र एसियामा मस्कोका परम्परागत सहयोगीहरूसँग कूटनीतिक सम्बन्ध बढाइरहेको छ ।