२५ जेठ २०८३, सोमबार

प्रमुख प्रतिपक्षसहितका दलहरूले राष्ट्रपतिलाई भेटे

कात्तिक ७, २०८१
काठमाडौं
प्रमुख प्रतिपक्षसहितका दलहरूले राष्ट्रपतिलाई भेटे

राष्ट्रपति रामचन्द्र पौडेलसँग सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षसहितका दलका नेताहरूले भेट गरेका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा बुधवार प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रतिपक्षमा रहेका दलका नेताहरूले भेट गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीबारे राष्ट्रपतिलाई जानकारी दिनका लागि आफूहरू शीतल निवासमा आएको प्रतिपक्ष दलहरूका प्रतिनिधिले बताए ।    

नेताहरूले संविधानको मर्मविपरीत र बहुलवादमा आधारित मर्म विपरीतका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । 

सो अवसरमा राष्ट्रपति पौडेलले आफू संविधान, राष्ट्र र राष्ट्रिय एकताको प्रवर्द्धनप्रति प्रतिबद्ध रहेको बताउँदै संविधानले आफूलाई दिएको कर्तव्य र सीमाअनुसार अगाडि बढ्ने कुरामा विश्वस्त हुन आग्रह गरे । उनले भने, ‘संविधान मर्म र लोकतन्त्रको मर्मलाई हेरेर संविधानले निर्धारित राष्ट्रपतिको कर्तव्य र सीमालाई हेरेर मैले काम गर्ने कुरामा तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु ।’

संसद्काे प्रतिपक्षमा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र आमजनता पार्टी छन् ।

राष्ट्रपति पौडेलसँगको भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र आमजनता पार्टीबाट नेता तिलक थापामगर सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्