
सहकारी ठगी र संगठित अपराधको अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।
अभियोगसम्बन्धमा बयान समेत नसकिएकाले उनलाई हिरासतमै राखेर अनुसन्धान अगाडि बढाउन अदालतले ७ दिनको म्याद दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
यसअघि प्रहरीले ६ दिनको म्याद पाएको थियो । यससँगै रविको तिहार प्रहरी हिरासतमै बित्ने भएको छ । कात्तिक १५ गतेबाट तिहार बिदा शुरू हुन्छ ।
सार्वजनिक बिदाको समयमा म्याद लिनुपर्दैन । प्रहरीले बिदा सकिएपछि मात्र म्याद थपका लागि अनुमति माग्न सक्छ ।
सूर्यदर्शनलगायत सहकारीको पैसा गोरखा मिडियामा ल्याएर दुरूपयोग गरेको भन्दै संसदीय छानबिन विशेष समितिले रवि लामिछानेसहित ४ जनालाई कारबाही गर्न सिफारिश गरेको थियो ।
गोरखा मिडिया नेटवर्कका अर्का सदस्य छविलाल जोशी बञ्जाडे झण्डै एक महिनाभन्दा बढी समयदेखि प्रहरी हिरासतमा छन् ।
लामिछानेले सहकारी ठगीमा आफूले संसदीय छानबिन समितिबाट ‘क्लीन चिट’ पाएको दाबी गर्दै आएका थिए । उनलाई कात्तिक २ गते प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।