
आफ्ना सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेको विषयलाई लिएर आन्दोलन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक राखेको छ । शुक्रवार साँझ केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बसिरहेको हो ।
विरोध प्रदर्शनको आगामी कार्यक्रमको स्वरुपवारे छलफल गर्न अनौपचारिक बैठक जारी रहेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
‘राजनीतिक प्रतिशोध साधेर रास्वपाका सभापति पक्राउ गरिएको र सत्तापक्षले सहकारी पीडितलाई न्याय दिने आवश्यक कदमको सट्टा अन्यतिरै अल्झिएर बसेको अवस्थामा सहकारीपीडितलाई न्याय दिने र रकम फिर्ता गर्न विरोध प्रदर्शनका आगामी कार्यक्रमको स्वरुपवारे छलफल गर्न केन्द्रीय समितिकाे अनौपचारिक बैठक जारी नै छ,’ उनले भने, ‘तर आन्दोलन स्थगनबारे कुनै छलफल वा निर्णय भएको छैन ।’
सहकारी ठगी प्रकरणमा सभापति लामिछाने पक्राउ परेको विरोधमा रास्वपाले शुक्रवार पनि काठमाडौंमा प्रदर्शन गरेको थियो । रास्वपाले माइतीघरमा प्रदर्शन गरेको हो ।
लामिछानेलाई २ कात्तिकमा पक्राउ गरेर पोखरा लगिएपछि केही दिन रास्वपाले पोखरामै विरोध प्रदर्शन गरेको थियो ।