२३ असार २०८३, मंगलबार

सीप भएका सुनुवारलाई मादल बनाउन भ्याइ नभ्याइ

कात्तिक १०, २०८१
सिन्धुली
सीप भएका सुनुवारलाई मादल बनाउन भ्याइ नभ्याइ

तिहार नजिकिएसँगै बिग्रिएका मादलले घरको दलिन खाली छैन । घरभित्र मादल झुन्डिएका छन् । घरबाहिर भुइँमा लडिरहेका देखिन्छन् । सिन्धुलीको फिक्कल गाउँपालिका–२ बोगोलाका लोकबहादुर सुनुवारको घरमा यति बेला मादलै मादल छन् । 

नयाँमा दल बनाउने र बिग्रिएको मादल मर्मत गर्ने सीप भएका सुनुवारलाई भ्याइ नभ्याइ छ । खाना–खाजा र आराम गर्ने समयसमेत छैन । 'आफूले मात्रै नभ्याएर तीन जनालाई ज्यालामा काम लगाएको छु । सधैँ यसरी काम आउँदैन । काम आएको बेला त गर्नै पर्‍यो नि, होइन ?,' उनले भने । 

एक हजार दुई सय रुपैयाँ प्रतिकामदारको ज्याला छ । अहिले ६० वटा मादल जम्मा भएका छन् । 'बिग्रिएको मादल बनाउन यहाँ ल्याएर छोडेका हुन्,' उनले भने, 'कुनै मादल बनिसकेका छन् । कुनै बन्ने क्रममा छन् ।'

बनाउन ल्याएका अधिकांश मादल खरी लगाउनुपर्ने अवस्थामा छन् । दिनमा एक व्यक्तिले तीनवटासम्म मादलमा खरी लगाउन सक्ने उनले बताए । एउटा मादलको दुई पट्टि खरी लगाएको एक हजार पाँच सय लिने गरिएको उनले सुनाए । 

तिहारमा घिन्ताङ–घिन्ताङमादलबजाएर नाँच्दै देउसी र भैली खेल्ने गरिन्छ । देउसी– भैलोको भाका मादलविना अपूरो हुन्छ । तिहार नजिकिएसँगै मादलको माग बढेको छ । मादल बनाउने सीप भएका सुनुवारको घरमा देउसी–भैलो खेल्न नयाँ मादल किन्ने, पुरानो मादलमा खरी हाल्ने, मादल कस्ने र छाला फेर्नेको भीड देखिन्छ ।

बिग्रिएका मादल बनाएर मात्रै १५ दिनको अवधिमा ६० हजार बढी आम्दानी हुने उनको आकलन छ । बूढेसकालले छुनै लागेका सुनुवारले १९ वर्षको उमेरदेखि मादलबनाएर बेच्ने गर्थे ।  

तिहारमा मादलको माग बढी हुन्छ तर कच्चा सामग्रीको अभाव छ । मादल बनाउन अत्यावश्यक कच्चा सामग्री सङ्कलन गर्नै मुस्किल पर्ने उनको भनाइ छ। विशेषगरी मादल बनाउन अत्यावश्यक गाई, गोरुको छाला र काठको अभाव हुँदा समस्या भएको उनले बताए । १९ वर्षको उमेरदेखि मादल बनाउँदै आएका सुनवारले भने, 'अहिले काठ पाउनै मुस्किल छ । जङ्गलमा पाइएको काठ पनि काट्न पाइँदैन । छालाको त्यस्तै समस्या छ ।'

मादल बनाउने काठ र छालाको अभाव हुँदा आफूसँग भएको सीपलाई व्यावसायिक रुपमा विस्तार गर्न नसकिएको उनको गुनासो छ । 'यो पेसा संरक्षणमा स्थानीय सरकार, सङ्घ–संस्थाकतैबाट सहयोग भइदिए मादल बनाउने पेसालाई व्यावसायिक रुपमा अगाडि बढाउने थिएँ,' उनले भने ।

पहिलाको तुलनामा मादलको माग कम भए पनि अझै केहीले राम्रो मादल चाहियो भनेर गाउँमै हातले बनाएका मादल खोज्न आउने गरेको उनको अनुभव छ ।  मादल बनाउन कानुनले बन्देज गरेका कतिपय कच्चा सामग्रीसमेत आवश्यक गर्ने भएकाले मादल बनाउने पेसाकर्मीलाई कठिन भएको फिक्कल गाउँपालिका प्रमुख पार्वती सुनुवारको धारणा छ । 

यद्यपि,परम्परागत स्थानीय सीप भनेको मौलिक सम्पत्ति र रोजगारीको पहिलो आधार हो । यिनको अभिलेखीकरण, भण्डारण र बजारीकरणसँगै व्यावसायिकीकरण गर्ने फिक्कल गाउँपालिकाको नीतिमै उल्लेख गरिएको उनले बताए ।

'हाम्रापुर्खाले पुस्तौँपुस्तादेखि आफ्नै अनुभवले आर्जन तथा संरक्षण गर्दै पुस्तान्तरण हुँदै आएको ज्ञान, सीप अहिले लोप हुँदै गएको अवस्था छ । यसको निरन्तरताका लागि अघिल्लो पुस्तासँग भएको धेरै किसिम र क्षेत्रका ज्ञान, सीप विद्यार्थी र युवा पुस्तालाई हस्तान्तरण गर्ने हाम्रो कार्यक्रमसमेत छ,' उनले भने । 

यसका लागि परम्परागत ज्ञान, सीपको अभिलेखीकरण, सीप हस्तान्तरण, उत्पादित सामग्रीको भण्डारण र बजारीकरणको व्यवस्थापन पालिकाले गर्ने उनले बताए । 
टाढा–टाढादेखि मादल बनाउन घरैमा बोकेर जानेको लस्कर देखिरहेका स्थानीयवासी हातमा सीप हुनेले बेरोजगार बस्नु पर्दैन, काम र पैसाले खोज्दै घरैमा पुग्छ भन्ने भनाइका उदाहरणीय व्यक्तित्वका रुपमा सुनुवारलाई लिन सकिने बताउँछन् । रासस

salt training

कमेन्ट गर्नुहोस्