
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताका समस्या समाधान गर्न वर्तमान सरकार गम्भीर रहेको बताएका छन् ।
नेकपा (एमाले) जिल्ला कमिटीले आज बिहान बेँसीसहर नगरपालिका–८ मा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सरकारले बाढीपहिरो पीडित, सहकारीपीडित, कृषक, व्यवसायी, निर्माण व्यवसायीलगायत सबै पेसाकर्मीलाई सहयोग पुग्नेगरी काम गरिरहेको उनले बताए ।
बाढीपहिरोबाट अतिप्रभावित पालिकालाई एक करोड, मध्यम क्षति भएकालाई ६० लाख प्रदान गर्ने निर्णय सरकारले गरेको जानकारी दिँदै उनले अस्थायी बासको व्यवस्था पनि सरकारले गर्ने बताए ।
मन्त्री गुरुङले ३० लाख दूध किसानमध्ये १५ लाख किसानका समस्या समाधान गर्नेदेखि निर्माण व्यवसायीलाई भुक्तानी दिनेसम्मका काम सरकारले प्राथमिकताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वर्तमान सरकार गठन भएयता आफूहरूले मुलुकको अर्थतन्त्रमा सुधार गर्न हरसम्भव प्रयास गरिरहेको बताए ।
सहकारीको रकम ठगीमा मुछिएका सबैलाई छानबिनको दायरामा ल्याइने उनले बताए ।
ठगीको अभियोगमा अनुसन्धानका निम्ति प्रहरीको नियन्त्रणमा रहेका सबैलाई कानुनअनुसार कारबाही हुने उनको भनाइ थियो । ऐनकानुनविपरीत गर्ने सबैलाई कानुनको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै सञ्चारमन्त्री गुरुङले बताए ।