
दशैंमा घर फर्किने क्रममा कञ्चनपुरका आशिष पन्तले बाटोमा सादा खानाका लागि प्लेटको ३०० रुपैयाँसम्म तिरे । तर, खानामा न स्वाद, न त गुणस्तर नै भएको उनी सम्झन्छन् ।
दशैं मनाएर फर्किने क्रममा उनले धादिङको नौबिसेमा १५० रुपैयाँ तिरेर एक प्लेट चना खाए ।
‘एक प्लेट सादा चनाको मूल्य १५० भन्ने सुनेपछि मैले अरू केही खाइनँ’, उनले भने, ‘मलाई चनाको मूल्य सुनेरै पुग्यो । बाटोमा खाने कुराको मूल्य बढी त छँदैछ, गुणस्तर पनि छैन । खानै मन लाग्दैन ।’
गत शुक्रबार कैलालीबाट काठमाडौं आएका रमेश भुलले शनिबार बिहान धादिङको नौबिसेमा खानाको मूल्य सुनेर केही नखाएको सुनाए । नौबिसेमा खानाको मूल्य ३०० रुपैयाँसम्म रहेको उनको भनाइ छ ।
काठमाडौंबाट कैलाली जाँदा पनि ३५० रुपैयाँको सादा खाना खाएको उनको भनाइ छ ।
‘बाटोमा गाडीवालाहरूले जता रोक्यो, त्यतै खाना खानुपर्छ । खानाको कुनै स्वाद हुँदैन । काठमाडौंबाट जाँदा राति कुन ठाउँ हो, थाहा भएन, ३५० रुपैयाँमा सादा खाना खाएँ । आउँदा नौबिसेमा सादा खानालाई ३०० भने । चना अण्डाको २०० रुपैयाँ भने । केही पनि नखाइ आएँ,’ भुलले लोकान्तरसँग भने ।
पन्त र भुल प्रतिनिधि पात्र मात्र हुन् । राजमार्गहरूमा यात्रा गर्ने यात्रुले गुणस्तरहीन खानाका लागि अस्वाभाविक मूल्य तिर्नुपर्ने बाध्यता रहँदै आएको छ । भोक मार्न मन नलागी/नलागी खान बाध्य छन् ।
पछिल्लो समय यो सामाजिक सञ्जालमा चर्चाको विषय पनि बनेको छ । आशिका तामाङ नाम गरेकी एक अभियन्ता राजमार्ग आसपासका होटल र पसलहरूमा पुगेर हप्कीदप्की गरिरहेको अवस्थामा भेटिन्छिन् ।
उनले बढी मूल्य लिनेहरूलाई कानून सिकाएर उपभोक्तालाई पैसा फिर्ता गराउने काम पनि गरिरहेकी छिन् । राजमार्ग क्षेत्रको लुटविरुद्ध एउटा व्यक्तिले अभियान छेडिरहेका बेला राज्य संयन्त्र भने निरीहजस्तै छन् ।
तर, धादिङको धुनीबेसी नगरपालिकाका उपप्रमुख सुरज उप्रेती भने नौबिसे तथा धार्के क्षेत्रका होटलमा अस्वाभाविक ढंगले मूल्य बढाउने क्रम रोकिएको दाबी गर्छन् ।
‘खाना र खाजाको मूल्य बढाउने क्रम घटेको छ । हामीले बेलाबेलामा टोली खटाएरै अनुगमन गरिरहेका छौं । कतिपय होटललाई ३ दिनसम्म बन्द समेत गरेका छौं’, उनले भने, ‘नगरपालिकाले मूल्य तोकेको छ । तोकेको मूल्यभन्दा एक रुपैयाँ पनि बढी लिएको पाइएमा तत्काल कारबाही गरिरहेका छौं । स्थानीय तह त्यत्तिकै बसेको छैन, काम गरिरहेको छ ।’
होटल व्यवसायीहरूले अनुगमनको समयमा मात्र मूल्य घटाउने गरेको पाइन्छ । सर्वसाधारणमाथिको लुट ज्युँकात्युँ छ । जनप्रतिनिधि र अनुगमनमा खटिने कर्मचारीलाई पहिलेदेखि चिनिसकेकाले अनुगमनका बेला सस्तोमा दिइएको हुन सक्ने उप्रेती पनि स्वीकार्छन् ।
‘समय–समयमा अनुगमन भइरहन्छ । त्यति बेला मूल्य बढाइएको हुँदैन । स्थानीयलाई सबैले चिन्ने गरेका हुन्छन् । नयाँ यात्रुलाई बढी मूल्य लिने गरेको हुनसक्छ’, उनले भने, ‘त्यसका लागि हामीले धेरैपटक छड्के पनि अनुगमन गरेको छौं ।’
जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बजार अनुगमन भइरहेको बताए । चाडपर्वको समयमा त ४ तहका टोलीबाट अनुगमन हुँदै आएको उनको भनाइ छ ।
‘हामी निरन्तर अनुगमनमा छौं । अहिले विशेषगरी ४ तहमा टोली खटाएर अनुगमन भइरहेको छ । अनुगमनमा मूल्यसूची मात्रै हेरिरहेका छैनौं, खानाको भण्डारण तथा सरसफाइका विषयमा होटल सञ्चालकलाई सिकाउने काम पनि भइरहेको छ’, उनले भने, ‘होटल व्यवसायीलाई पनि खाना पकाउनेदेखि व्यवस्थित राख्नेसम्मका विधि सिकाउने काम भइरहेको छ ।’
यसका साथै स्थानीय तहमार्फत आम सर्वसाधारणलाई सचेत गराउने काम पनि भइरहेको उनले बताए । ‘राज्यका निकायहरूले निरन्तर काम गरिरेकै छन् । अहिलेसम्म हामीले प्रभावशाली ढंगले काम गरिरहेका छौं,’ घिमिरेले भने ।
प्रत्येक होटलमा मूल्य सूची अनिवार्य गर्ने काम गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले बताए । तोकिएको मूल्यभन्दा बढी लिएको पाइएमा त्यस्ता होटललाई कारबाही गरिरहेको उनको भनाइ छ ।
‘राज्यका निकायहरूले काम गरिरहेकै छन् । होटल व्यवसायीसँग समन्वय गरेर मूल्य सूची अनिवार्य गरेका छौं’, उनले भने, ‘कारबाही पनि तत्काल गरिरहेकै छौं । गाडीवालाहरूले नै विकल्प नभएको ठाउँमा खाना खानका लागि रोक्ने गरेको सुनिन्छ । त्यसले पनि उपभोक्ताहरू मारमा परिरहेका हुन्छन् । हरेक निकायबाट निरन्तर अनुगमन गर्ने काम भइरहेको छ । पहिलेदेखि नै हामी निरन्तर खटिरहेकै छौं ।’