
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला)को अनावरण गरेको छ।
काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले उक्त पाठशालाको अनावरण गरेका हुन् ।
उक्त कार्यक्रममा नेपाल लाइफका उच्च पदस्थ अधिकारीहरू, पेशागत बीमा अभिकर्ता संघ नेपालका प्रतिनिधिहरू तथा पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सीईओ पराजुलीले ऊर्जावान शक्तिलाई उद्यमशीलतामा लगाउन सके देशको आर्थिक विकासमा सहज हुने बताए ।
नेपालको जनसङ्ख्यामा युवा जनशक्तिको हिस्सा दक्षिण एसियामानै सबैभन्दा बढी भएको र यो ऊर्जावान शक्तिलाई उद्यमशीलतामा लगाउन सक्नुपर्ने उनले बताए ।
भूमण्डलीकरणको कारणले विश्व एउटा डिजिटल डिभाइसमा समेटिन पुगेको र यसको प्रयोग गर्दै आर्थिक स्वतन्त्रता प्राप्त गर्न सबै युवालाई उनले आग्रह गरे ।
नेपाल लाइफले ल्याएको यस प्लेटफर्मका कारण अब घरमै बसेर आफ्नो अनुकूल समयमा बीमा अभिकर्ता तालिम लिन सकिने उनले जानकारी दिए ।
उनले नेपाल बीमा प्राधिकरणले तर्जुमा गरेको पाठ्यक्रमको आधारमा बीमा अभिकर्ताको आधारभूत तालिमको लागि श्रव्य दृश्यहरू निर्माण गरी सञ्चालनमा ल्याइएको बताए । आगामी दिनमा कर्मचारीको सीप ज्ञान अभिवृद्धिका निम्ति पनि कार्यहरू थालनी गर्ने योजना रहेको उनले जानकारी दिए ।