पछिल्लो समय हवाई उडानमा सुरक्षा अफवाह आइरहेका छन् ।
अज्ञात समूहबाट एक साताको अवधिमै नेपालमा दुईपटक यस्तो अफवाह फैलाइएको छ ।
काठमाडौंबाट भारतको नयाँ दिल्ली आज उड्न लागेको एयर इण्डियाको विमानमा बम राखेको हल्लापछि विमानमा सवार यात्रुलाई ओरालेर जाँच भइरहेको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार एयर इण्डियाको विमानमा बमको हल्लापछि अहिले जाँच भइरहेको छ । हालसम्म कुनै शङ्कास्पद वस्तु फेला परेको छैन ।
'भारतबाट नेपाल आउने विमानमा बम राखिएको हल्ला आइरहेको छन् तर, अहिलेसम्म त्यस्तो कुनै शङ्कास्पद वस्तु फेला परेको छैन,' प्रवक्ता कार्कीले भने ।
एयर इण्डियाको एआई–२१६ विमानमा बमको हल्लापछि अहिले विमानको जाँच भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।
उक्त विमानको जाँच प्रक्रिया चलिरहे पनि विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्यरूपमा सञ्चालन भइरहेको छ ।
दिउँसो २ बजे काठमाडौं विमानस्थलमा अवतरण भएको एयर इण्डियाको विमानमा बम राखेको अज्ञात समूहबाट जानकारी आएपछि नेपाली सेना र नेपाल प्रहरीको विशेष टोलीले जाँच गरिरहेको छ ।
सो विमान काठमाडौंबाट एक यस ५८ यात्रु लिएर दिल्ली उड्ने तयारीमा थियो ।
यसअघि यही कात्तिक ६ गते भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा बम राखेको हल्ला फैलिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको विस्फोटक पदार्थ निष्क्रिय गर्ने विशेष टोलीले खानतलासी गरेको थियो ।
भारतको नयाँ दिल्लीबाट भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त विमानमा बम राखेको फोन दिल्लीबाटै आएको सूचनाका आधारमा जाँच गरिएको थियो ।
उक्त विमानमा पनि कुनै शङ्कास्पद वस्तु फेला परेको थिएन ।