
काठमाडौं, २२ कात्तिक– नेकपा एमालेका वरिष्ठ नेता माओवादी केन्द्रको आन्तरिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएका छन् ।
एमाले र माओवादीबीच चुनावी तालमेलसँगै पार्टी एकीकरणको बहस चलिरहेका बेला एमाले वरिष्ठ नेता नेपाल माओवादीको कार्यकर्ता भेला कार्यक्रममा प्रमुख अतिथि भएर सहभागी भएका हुन् ।
पार्टीका तल्लो तहका नेता र कार्यकर्तालाई एकताको सन्देश दिन दुवै पार्टीले एक–अर्को पार्टीका वरिष्ठ नेतालाई प्रमुख अतिथि बनाउने अभ्यास अगाडि बढाएका हुन् ।
माओवादी केन्द्रको काठमाडौं क्षेत्रनम्बर २ ले बुधवार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा चुनावी कार्यक्रममा नेपाल प्रमुख अतिथिको रुपमा सहभागी भएका हुन् ।
कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य प्रकाश गौतमसहितका केन्द्रीय तहका आधा दर्जन नेताहरु अतिथिका रुपमा सहभागी भएका थिए । भेलाको अध्यक्षता माओवादी केन्द्र काठमाडौं–२ का संयोजक विमल ढुंगेलले गरेका थिए ।
नेता नेपाल काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि वाम गठवन्धनका साझा उम्मेदवार समेत हुन् ।
भेलालाई सम्बोधन गर्दै नेता नेपालले दुई ठूला वामपन्थी दल एमाले र माओवादी मिलेर एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्ने अभियान सुरु भएको बताए । दुई पार्टीबीचको एकता राजनीतिक स्थायित्वसहित मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिका लागि भएको नेता नेपालको भनाइ थियो ।