१७ असार २०८३, बुधबार

नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा शुभकामना र्‍याली

कात्तिक १७, २०८१
काठमाडौं
नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा शुभकामना र्‍याली

नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा आज राजधानीसहित देशभरका मुख्य शहरमा शुभकामना र्‍याली निकालिएको छ ।

विविध सांस्कृतिक झाँकीसहित विभिन्न कार्यक्रमका साथ ‘न्हुँदया भिन्तुना’ भन्दै कतै मोटरसाइकल, कतै साइकल तथा कतै पैदलयात्रामा र्‍याली निकालिएको हो ।

राजधानीका विभिन्न स्थानमा अहिले निकालिएको र्‍यालीले सहर परिक्रमा गरिरहेको छ । र्‍यालीमा बालकदेखि वृद्धसम्म सांस्कृतिक वेषभूषामा खुसी साट्दै हिँडेको देखिन्छ ।

नेपाल संवत्‌लाई हाल विशेष रूपमा नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरूआत गराएका थिए ।

नेपाल संवत्‌ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्‌को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिए ।

'लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरू भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्‌का रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशका नामबाट राखिएकाले यो मौलिक संवत् हो,' उनले भने ।​

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्‌लाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर, चौतारालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्