१० असार २०८३, बुधबार

तीनजना मिलेर तिहार लक्षित फूलखेती, एक लाखको बिक्री

कात्तिक १८, २०८१
तनहुँ
तीनजना मिलेर तिहार लक्षित फूलखेती, एक लाखको बिक्री

तनहुँको म्याग्दे गाउँपालिकाका तीन युवाले तिहारलाई लक्षित गरी एक लाखको सयपत्री फूल बिक्री गरेका छन् । यसै वर्ष पहिलोपटक सयपत्री फूलखेती गरेका तीन युवाले तिहारलाई लक्षित गरी एक लाख बढीको फूल बिक्री गरेका हुन् । 

अक्षय कायस्थ, सन्तोष श्रेष्ठ र सुजन श्रेष्ठले म्याग्दे गाउँपालिका–६ धैरेनीमा उत्पादित सयपत्री स्थानीय स्तरमा बिक्री गरेका छन् । मागअनुसार सयपत्री फूल पुर्‍याउन नसकिएको अक्षयले जानकारी दिए । फूल लगाउन ढिलाइ भएकाले उत्पादन कम भएको भन्दै माग धेरै आएकाले माग अनुसार पुर्‍याउन नसकिएको उनले बताए ।

'बारीमा लगाएकोमध्ये एकतिहाइ मात्र फूल उत्पादन भएको छ । अझै फूल उत्पादन हुन बाँकी छ । तिहारमा मनग्ये बिक्री भयो । बजार मूल्य राम्रो पाउँदा हामी उत्साहित भएका छौँ,' उनले भने । 

उनले प्रतिकिलो दुई सय ५० मा फूल बिक्री गरिएको जानकारी दिए ।

फूल बिक्रीका लागि म्याग्दे–४ थर्पुमा बिक्री केन्द्र स्थापना गरिएको थियो । गाउँपालिकाको सहयोगमा बिक्री केन्द्रमा राखिएको फूलले बजार पाउन सफल भएको अक्षयको भनाइ छ । 

म्याग्दे गाउँपालिकाको पुष्पखेती कार्यक्रममार्फत पहिलोपटक युवाहरूले सयपत्री फूलखेती शुरू गरेका हुन् । सयपत्री फूलखेतीका लागि गाउँपालिकाले बीउ खरिदमा ७५ प्रतिशत अनुदान दिएको थियो । फूलखेतीमा आबद्ध अक्षय गाउँपालिकाका कर्मचारी हुन् भने सन्तोष पशुपालन व्यवसायमा आबद्ध छन् ।

स्थानीय किसानलाई प्रोत्साहन र हौसला दिन गाउँपालिकाले फूल बिक्रीका लागि सहयोग गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । अन्य कार्यक्रममा पनि स्थानीयस्तरमा उत्पादित सयपत्री फूल प्रयोग गर्न प्रोत्साहन गरिने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्