१५ असार २०८३, सोमबार

दाजु र भाइबीच भाइटीका !

कात्तिक १८, २०८१
तनहुँ
दाजु र भाइबीच भाइटीका !

भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गर्ने चलन छ । आफ्नै दिदीबहिनी नहुनेले पनि आफन्त र छरछिमेकीका दिदी बहिनीसँग भाइटीका थाप्छन् ।

तर तनहुँको व्यास नगरपालिका–१० सेवरका मदन तिमिल्सिना र सुमन तिमिल्सिनाले विगत सात वर्षदेखि एकअर्कालाई भाइटीका लगाएर तिहार मनाउँदै आएका छन् । 

आफ्नै दिदीबहिनी नभएपछि सात वर्षदेखि यसैगरी भाइटीका मनाउँदै आएको मदनले बताए ।

मदन र सुमन दुई दाजुभाइ मात्रै हुन् । 'आफन्त दिदीबहिनीको हातबाट टीका थाप्दै आइरहेका थियौं । उहाँका आफ्नै दाजुभाइ विदेश गएपछि हामीलाई टीका लगाउन आउन छाड्नुभयो । हामी टीका थाप्न कुरिरहेका थियौं । नआएपछि मन खल्लो भयो । त्यसपछि हामीले एक-अर्कालाई टीका लगाउने सोच बनाएर शुरू गर्‍यौं । त्यसपछि निरन्तर त्यसरी मनाउँदै आइरहेका छौं,' मदनले भने ।

मदन र सुमनले भाइटीका गर्दा शुरूमा धेरैले अनौठो माने । दाजुभाइबीच भाइटीका लगाउने सामाजिक मान्यता थिएन । शुरूका वर्ष उनीहरू आफैंलाई असहज महसुस भयो ।

दाजुभाइले भाइटीका लगाउन थालेपछि ‘हामी लगाइदिन्छौं’ भन्नेहरू भेटिए । तर, उनीहरूले शुरू गरेको भाइटीकालाई निरन्तरता दिन छाडेनन् ।

दिदीबहिनी नभएपनि दाजुभाइले भाइटीका गर्दा तिहारमा निधार खाली राख्न नपर्ने भाइ सुमनको भनाइ छ ।

'दाजुभाइले भाइटीका गर्दा सम्बन्ध सुमधुर बन्छ । हामी सदैव यसैलाई निरन्तरता दिनेछौ,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्