ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिन भारत प्रस्थान गरेका छन् ।
नयाँ दिल्लीमा नोभेम्बर ३ देखि ६ तारिखसम्म आयोजित सातौं गठबन्धन सम्मेलनमा भाग लिन मन्त्री खड्का आज अपरान्ह ३ बजे नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन ९कोप–२१० को २१ औं सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिएको थियो ।
उक्त सम्मेलनमा भाग लिएका करिब एक सय २० राष्ट्रका प्रमुखले सौर्य ऊर्जाको प्रवर्द्धनका लागि क्रियाशील गठबन्धनमा आफ्नो सहभागिता हुने प्रतिबद्धता जनाएका थिए ।
उक्त सम्मेलनमा विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र उर्जा विकासलाई निर्देशित गर्ने माध्यमको रुपमा सौर्य ऊर्जा प्रविधिको बढ्दो उपयोगबारे छलफल हुनेछ ।
यस्तै, सम्मेलनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको अध्यक्ष, सहअध्यक्ष, महानिर्देशकलगायत विभिन्न पदमा नयाँ कार्यसमिति चुन्ने कार्यक्रमसमेत छ ।
उक्त सम्मेलनले सौर्य ऊर्जाको व्यापक प्रयोगका लागि आवश्यक पर्ने अमेरिकी डलर एक हजार अर्ब भन्दा बढीको लगानी परिचालन गर्ने र जसबाट नेपाल समेत लाभान्वित हुने बताइएको छ ।
यसले जलवायु परिवर्तन कम गर्न नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिमा पेस गरेको दोस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनमा सहयोग पुग्नेछ ।