२४ जेठ २०८३, आइतबार

विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्याण्ड ६७ रनले पराजित

कात्तिक २१, २०८१
काठमाडौं
विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्याण्ड ६७ रनले पराजित

आईसीसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा सुखद् शुरूआत गरेको छ । 

संयुक्त अरब इमिरेट्स (यूएई)को द सेभेन क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको उद्घाटन खेलमा सुखद् शुरूआत गरेको हो । 

नेपालले प्रस्तुत गरेको एक सय तीन रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३५ रनमै समेटियो । थाइल्याण्डका लागि अपिसरा सुवान्चोरथीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका लागि रचनाकुमारी चौधरी एक्लैले चार विकेट लिइन् भने कप्तान पूजा महतो र रिया शर्माले समान २/२ विकेट लिए । त्यसैगरी  करिश्मा गुरुङ र मनीषाकुमारी उपाध्यायले समान १/१  विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय दुई रनको योगफल तयार पारेको थियो । नेपालका लागि पूजा महतोले सर्वाधिक ३५ रनको योगदान दिइन् ।

उनले ४० बलमा तीन चौका र एक छक्काको मद्दतले ३५ रन जोडेकी हुन् । यसैगरी सीमाना केसी र सोनी पाख्रिनले समान १९/१९ रन बनाए ।​

थाइल्याण्डका लागि चारुकन साइमाले दुई तथा सुनिसा बोङ्कोडफोंगम्पाईले एक विकेट लिइन् । यही कात्तिक २९ गतेसम्म चल्ने उक्त प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् ।

सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ ।

नेपालले भोलि आफ्नो दोस्रो खेल कुवेतसँग खेल्नेछ । विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्