
नायिका स्वस्तिमा खड्का चलचित्र 'हरिबहादुरको जुत्ता'मा अनुबन्धित भएकी छन्। चलचित्रका निर्देशक दीपेन्द्र कुमार खनालले शुक्रबार स्वस्तिमा चलचित्रमा जोडिएको जानकारी दिएका छन्।
उक्त चलचित्रमा यसअघि कलाकार हरिवंश आचार्य र प्रकाश सपुत अनुबन्ध भइसकेका छन्। एसएम मोसन पिक्चर्सको प्रस्तुतीमा निर्माण हुने चलचित्रमा अन्य कलाकार भने तय हुन बाँकी छ।
गायक तथा म्युजिक भिडिओ निर्माता सरोज ओलीले निर्माण गर्ने यस फिल्मको बजेट एक करोड ५० लाख रुपैयाँ रहने बताइएको छ। फिल्मको पटकथा तथा संवाद कलाकार हरिवंश आचार्यले लेखेका हुन्।
निर्देशक खनालले स्वस्तिमासँग यसअघि नै सहकार्य गरिसकेका भएपनि हरिवंश र प्रकाशसँग पहिलो सहकार्य हो।
अहिले हलमा प्रकाश अभिनित 'पूर्णबहादुरको सारङ्गी' प्रदर्शन भइरहेको छ भने स्वस्तिमाको निर्माण तथा अभिनय रहेको 'बेहुली फ्रम मेघौली'दशैंमा रिलिज भएको थियो। तर, उचित शो नदिइएको भन्दै केही दिनमै हलबाट उतारिएको उक्त चलचित्र हाल ओटीटीमा उपलब्ध छ।