२४ जेठ २०८३, आइतबार

टी–२० विश्वकप छनोटमा नेपालको पहिलो हार,  यूएई १३ रनले विजयी

कात्तिक २४, २०८१
काठमाडौं
टी–२० विश्वकप छनोटमा नेपालको पहिलो हार,  यूएई १३ रनले विजयी
तस्वीर: क्यान।

यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपालले हार व्यहोरेको छ। युनाइटेड अरब इमिरेट्स (यूएई)को अजमानस्थित द सेभेन रङ्गशालामा शनिबार भएको खेलमा घरेलु टोली यूएईले नेपाललाई १३ रनले हराएको हो।

यूएईले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय नौ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाइन्। उनले ४३ बलमा ५ चौकाको मद्दतले सर्वाधिक ४८ रन बनाएकी हुन्। साना प्रवीण र सोनी पाख्रिनले समान १९/१९ रन बनाए। ज्योत्स्निका मरासिनीले ११, सावित्री धामीले ७ र एलिशाकुमारी यादवले तीन रन बनाइन्। यो खेलमा नेपालले अतिरिक्त तीन रन पाएको छ। यूएईका लागि इन्धुजा नन्दकुमार, लावन्या केनी र मेहक ठाकुरले समान १/१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनाएको थियो। यूएईका लागि रिनिथा रञ्जितले सर्वाधिक ४८ रन बनाइन्। उनले ३३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन बनाएकी हुन्।

यस्तै, लावन्या केनीले २०, इन्धुजा नन्दकुमारले १२, समाइरा धरनिधर्कले ८, अल मसीरा जहाँगीरले ६ रनको योगदान दिए। ऋषिता राजित र अवनी सुनिल पाटिलले समान ९/९ रन बनाए। यूएईले अतिरिक्त १० रन प्राप्त गरेको हो। 

नेपालका लागि रिया शर्माले सर्वाधिक तीन विकेट लिइन्। पूजा महतो, कृश्मा गुरुङ र सीमा केसीले समान १/१ विकेट लिए। एसिया छनोटमा नेपालको यो पहिलो हार हो। यसअघि नेपालले दुई खेल जितेको थियो। पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। दोस्रो खेलमा कुवेतलाई एक सय आठ रनले हराएको थियो। 

नेपालले आइतबार थाइल्याण्डसँग चौंथो खेल खेल्नेछ। छनोट खेलमा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ।    

salt training

कमेन्ट गर्नुहोस्