
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण छोटो हुने र कुनै नवीन समझदारी नहुने उनी नेतृत्वको पार्टी नेकपा एमालेले जनाएको छ ।
शनिबार बसेको एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले आगामी डिसेम्बर पहिलो साता प्रधानमन्त्री ओली चीन जाने जानकारी दिए ।
'डिसेम्बर पहिलो साता प्रधानमन्त्रीज्यू चीन जानुहुन्छ र यसपटकको भ्रमण छोटो हुन्छ,' उनले भने, 'नयाँ समझदारी भन्दा पनि विगतमा भएका समझदारी कार्यान्वयन गर्ने विषयमा छलफल गर्ने बताउनुभएको छ ।'
सचिवालय बैठकमा नेपालको अधिकतम हित हुने गरी दुई छिमेकी र अन्य मित्रराष्ट्र देशसँग परराष्ट्र सम्बन्धलाई अघि बढाउने विषयमा छलफल भएको थियो ।
यससँगै सबै पार्टी पंक्तिलाई यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा केन्द्रित गर्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ ।
उपमहासचिव ज्ञवालीले भने, 'चुनावी सहकार्यका लागि अहिलेसम्म कुनै निर्णय गरेका छैनौं, छलफलबाट फरक निष्कर्षमा पुगिएछ भने त्यो बेग्लै कुरा हो, आजसम्मको स्थापित मान्यता एक्लै चुनाव लड्ने भन्ने नै हो,' उनले भने, 'सत्ता सहयात्री दलहरूसँग पनि स्वस्थ प्रतिस्पर्धा गर्छौं ।'
साथै एमालेले यही मङ्सिर ७ गते काठमाडौंमा पार्टीको जागरण सभा गर्ने निर्णय पनि गरेको छ ।
उक्त कार्यक्रममा सहभागिता जुटाउन पार्टीका विभिन्न कमिटीलाई परिचालन गर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा हुने जागरण सभालाई सफल पार्न पार्टीका सबै जनवर्गीय सङ्गठन तथा सम्पर्क कमिटीहरूलाई सहयोग गर्न आह्वान गरिएको छ ।