
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले भाषाको संरक्षण घरबाटै हुनुपर्ने बताएका छन्। तमु विद्यार्थी छोंज धींको शनिबारदेखि दमौलीमा शुरू भएको बाह्रौँ महाधिवेशनको उद्घाटन गर्दै उनले भाषा लोप भए संस्कृति पनि लोप हुने भएकाले भाषा, संस्कृतिको संरक्षणमा लाग्नुपर्ने बताए।
मन्त्री गुरूङले घरबाटै आफ्नो भाषामा बोल्ने संस्कृतिको विकास गर्नसकेमा भाषाको संरक्षणमा योगदान पुग्ने बताउँदै छोराछोरीसँग बोल्दा आमाबाबुले मातृभाषामा बोल्नुपर्नेमा जोड दिए। सरकारका प्रवक्ता मन्त्री गुरूङले गुरूङ जातिको मात्र नभइ हरेक जातजातिको भाषा संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
उनले युवाहरू स्वदेशमै बसेर काम गर्नुपर्ने र त्यसका लागि आत्मनिर्भर बन्ने बाटोतर्फ अगाडि बढ्नुपर्ने धारणा राखे।
एक अर्को प्रसङ्गमा मन्त्री गुरुङले नेपालको निजामती, सुरक्षा निकाय, बैङ्किङलगायत सबै क्षेत्रमा गुरूङ समुदाय पछाडि परेको र यसमा लाहुरे संस्कृति बाधक रहेको जिकिर गरे।
'लाहुरे संस्कृतिले राज्यका निकायमा प्रतिनिधित्व कमजोर बन्यो। यस विषयमा गम्भीर भएर सोचौँ र गुरूङ जातिका संघसंस्थाबाट आएका व्यक्ति नेपालको राष्ट्रिय राजनीतिमा आउनुपर्छ। यी संघसंस्था हाम्रा शक्तिकेन्द्र हुन्, यहाँबाट उत्पादन भएका हरेक व्यक्ति नेपालको राजनीतिमा आउन सक्नुपर्छ। तमु विद्यार्थी संगठनमा रहेका युवाले देशको प्रधानमन्त्री, मन्त्री, सचिव बन्ने सपना देख्नुपर्छ', मन्त्री गुरुङले भने।
तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनले छोंज धींको नयाँ नेतृत्व चयन गर्नेछ। राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिका संयोजक विश्वराज तमुले महाधिवेशनमा एक हजार पाँच सय जनाको सहभागिता रहेको जानकारी दिए।