
बाढीपहिरोले बगाएको सडक र गोरेटो बाटो मर्मत नहुँदा पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापूका बासिन्दाले १८ महिनादेखि समस्या झेल्दै आएका छन् ।
यहाँका १० वटा बस्तीबाट बिरामीलाई ‘स्टेचर’मा स्वास्थ्य संस्था पुर्याउने बाटो पनि छैन ।
यहाँका मेवा खोलासहित उक्त खोलामा जोडिने मुरुङ्गा, देवीखोला र लम्बाखोलामा आएको बाढी तथा सयौँ स्थानमा खसेको पहिरोका कारण भौतिक संरचना क्षतिग्रस्त हुँदा गोरेटो बाटोसमेत अवरुद्ध छ ।
बाटो नहुँदा च्याङथापूका समरजुङ, मङ्गरडाँडा, खोलाघारी, मास्लोगाउँ, एकराते, चोक, फेदी, ढाँडगाउँ, याकलिङ र काङदाङका बासिन्दाले बिरामीलाई स्टेचरमा बोकेर सडकसम्म पुर्याउन कठिन भएको याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले बताए ।
जिल्लाको उत्तरी च्याङथापू बजारबाट पर्यटकीय क्षेत्र लामपोखरी जोड्ने सडकले यी बस्तीलाई समेटेको थियो । गत वर्षको बाढीले उक्त सडकको मेवाखोला किनारामा पर्ने झण्डै तीन किलोमिटर मोटरबाटो बगाएको छ । मोटरबाटो नै यी बस्तीबाट च्याङथापू पुग्ने पैदलमार्ग थियो । बाढीले दशकौँदेखि चलनचल्तीमा रहेको गोरेटो बाटा पनिक्षतिग्रस्त बनाएको हो ।
'खोला किनारामा सडकको संरचना पनि नभेटिने अवस्था छ,' वडाध्यक्ष खालिङले भने, 'यहाँका झण्डै तीन सय घरपरिवार अहिले सडकको पहुँचभन्दा बाहिर छौँ।'
गोरेटो बाटो पनि नभएपछि गत महिना यहाँका एक बालक गम्भीर बिरामी भएपछि उपचारका लागि बोकेर समरजुङ हुँदै च्याङथापू पुर्याउनु परेको उनले बताए । यी क्षेत्रबाट मेवा खोलालाई पाँच स्थानमा तरेपछि मात्रै च्याङथापू बजार पुगिन्छ । खोला तर्नुपर्ने पाँचमध्ये तीन स्थानमा बाँस र काठको अस्थायी फड्केको सहायताले खोला तर्ने गरिएको छ ।
आफूले याङवरक गाउँपालिकासहित सम्बन्धित निकायलाई जानकारी गराए पनि उक्त सडकको तत्कालै पुनर्निर्माण हुने स्थिति नरहेको उनले बताए ।
अर्कातर्फ यहाँका बालबालिकालाई विद्यालय पुग्न असाध्यै कठिन छ । खोलाघारीकी सुकमाया राईका अनुसार स–साना बालबालिका फड्के तरेर विद्यालय जान र फर्किन सक्दैनन् । बच्चाहरूलाई जोखिम मोलेर विद्यालय पठाउनुपर्ने बाध्यता छ । यी क्षेत्रबाट कतिपय स्थानीय बसाइँ सरेका छन् ।
दर्जनौँ स्थानमा पहिरो झरेर झण्डै तीन महिना विस्थापित हुनुपरेपछि यहाँको चोक नामक बस्तीका अशोक राईको परिवार अहिले च्याङथापूमा डेरा लिएर बसेको छ ।
बाढीपहिरो प्रभावित बस्तीसहित लामपोखरीलाई जोड्ने उद्देश्यले समरजुङबाट मङ्गरडाँडासम्म विस्तार भएको कृषि सडकलाई गाउँपालिकाले मास्लोगाउँमा रहेको पुरानो ट्रयाकमा जोडेको थियो । नयाँ ट्रयाक निर्माण भएपछि ट्रयाक्टरमा खाद्यान्नलगायत सामग्री गाउँसम्म पुर्याइएको थियो । लामपोखरीस्थित सुकाढापमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी)मा समेत नयाँ ट्रयाकबाट खाद्यान्न पुर्याइएको थियो । तर गत साउन र असोजमा खसेको पहिरोले उक्त ट्रयाक पनि क्षतिग्रस्त बनाएको छ । रासस