
मुखमा कपडा कोचिएको र खुट्टा बाँधिएको अवस्थामा भक्तपुर नगरपालिका–३ दरबार स्क्वायर इछुगल्ली निवासी ९४ वर्षीया विष्णुकुमारी त्वायना आफ्नै घरमा आज मृत फेला परेकी छिन् ।
आफ्नै घरको चौथो तल्लाको कोठामा एक्लै बस्दै आएकी उनको सुत्ने कोठामा कपडा मुखमा कोचेको र कपडाले दुवै खुट्टा एकै ठाउँमा बाँधिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
घटनाबारे जानकारी दिँदै प्रवक्ता न्यौपानेले भने, “घटना शंकास्पद देखियो, त्यसैले विस्तृत अनुसन्धानका लागि केनाइबाट कुकुरसहितको प्रहरी टोली ल्याएर र अपराध अनुसन्धान शाखा भक्तपुरबाट खटिएको प्रहरी टोली र फरेन्सिक ल्याव आउनुभएको चिकित्सकसहितको टोलीले शवको अनुसन्धान गरी मुचुल्का उठाएर अनुसन्धान सुरु गरेका छौँ ।”
उनले हत्या आंशकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको बताउँदै मृतकको शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएको जानकारी दिए ।