
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार तीन देशको पाँच दिने महत्त्वपूर्ण भ्रमणका लागि प्रस्थान गरेका छन् । उनी नाइजेरिया, ब्राजिल र गयानामा उच्चस्तरीय द्विपक्षीय तथा बहुपक्षीय बैठकहरूमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । उनको भ्रमणले भारतको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ।
प्रधानमन्त्री मोदीको यो भ्रमण १७ वर्षपछि कुनै भारतीय प्रधानमन्त्रीले नाइजेरियामा गर्ने पहिलो भ्रमण हो। भ्रमणको पहिलो चरणमा प्रधानमन्त्री मोदी नाइजेरियाका राष्ट्रपति बोला अहमद टीनुबूको निम्तोमा दुई दिनसम्म त्यहाँ रहनेछन्। भारत र नाइजेरियाबीचको सम्बन्ध सन् २००७ देखि नै रणनीतिक साझेदारीमा आधारित छ।
दुवै देशले आर्थिक, ऊर्जा र रक्षा क्षेत्रहरूमा सहयोग गर्दै आएका छन्। हाल नाइजेरियामा २०० भन्दा बढी भारतीय कम्पनीहरूले २७ अर्ब डलरभन्दा बढीको लगानी गरेका छन्, जसले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप मजबुत बनाएको छ।
प्रधानमन्त्री मोदी भ्रमणको दोस्रो चरणमा १८ नोभेम्बरमा ब्राजिलको रियो दि जेनेरियो पुग्नेछन् । त्यहाँ उनी राष्ट्रपति लुइज इनासियो लूला दा सिल्वाको आतिथ्यमा आयोजित १९औं जी-२० शिखर सम्मेलनमा सहभागी हुनेछन्।
यो सम्मेलनमा विश्वका ठूला अर्थतन्त्रका नेताहरूबीच वैश्विक आर्थिक स्थायित्व, जलवायु परिवर्तन र अन्य महत्त्वपूर्ण मुद्दाहरूमा छलफल हुनेछ।
५० वर्षपछि गयानाको यात्रा गर्ने पहिलो भारतीय प्रधानमन्त्री
प्रधानमन्त्री मोदीको भ्रमणको अन्तिम चरणमा उनी १९ देखि २१ नोभेम्बरसम्म गयानाको जर्जटाउनमा रहनेछन्। यो भ्रमण ५० वर्षपछि कुनै भारतीय प्रधानमन्त्रीद्वारा गयानामा गरिएको पहिलो यात्रा हो।
गयानाका राष्ट्रपति मोहम्मद इरफान अलीको निम्तोमा गरिएको यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। प्रधानमन्त्री मोदीले गयानाको संसद्लाई सम्बोधन गर्नेछन् र त्यहाँ रहेका प्रवासी भारतीयहरूसँग विशेष भेटघाट गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले क्यारेबियन देशका नेताहरूसँग दोस्रो भारत-क्यारीकम शिखर सम्मेलनमा पनि भाग लिनेछन्। यसले भारत र क्यारेबियन मुलुकहरूबीचको साझेदारीलाई थप प्रगाढ बनाउने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रधानमन्त्री मोदीको यो भ्रमणले नाइजेरिया, ब्राजिल र गयानासँग भारतको रणनीतिक साझेदारीलाई थप विस्तार गर्ने, द्विपक्षीय र बहुपक्षीय सम्बन्धलाई सुदृढ पार्ने र प्रवासी भारतीयहरूसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिएको छ।