
भारत राजस्थानको भरतपुरमा प्रहरीले अपराधीहरूको मनोबल गिराउन र जनतामा उनीहरूको आतंक समाप्त गर्नका लागि अनौठो कदम चालेको छ।
जिल्ला प्रहरी प्रमुख मृदुल कच्छावाले स्थानीय खुंखार अपराधी खुबीराम जाटमाथि २५ पैसाको इनाम घोषणा गरेका छन्। यो इनामको घोषणा अपराध नियन्त्रणमा नयाँ सोचको परिचायक बनेको छ।
प्रहरीले खुबीरामको बारेमा जसले सूचना दिन्छ, उसको नाम गोप्य राखिने बताएको छ। साथै, सूचनादातालाई २५ पैसाको इनाम दिइनेछ।
४८ वर्षीय खुबीराम जाट लखनपुर थाना क्षेत्रको मई गाउँका बासिन्दा हुन्। उनीमाथि हत्या प्रयास, कुटपिट, गालीगलौज, र एससी-एसटी एक्ट अन्तर्गत तीनवटा मुद्दा दर्ता छन्।
तीमध्ये हत्या प्रयासको मुद्दा यसै वर्ष दर्ता गरिएको हो। प्रहरीले उनलाई समात्न धेरै पटक प्रयास गरे पनि खुबीराम बारम्बार प्रहरीको फन्दाबाट उम्कन सफल भएका छन्।
प्रहरी प्रमुख मृदुल कच्छावाले यो इनाम प्रतीकात्मक रहेको बताएका छन् । 'तर, यसको मुख्य उद्देश्य अपराधीहरूमा कानूनी डर पैदा गर्नु र उनीहरूको महिमामण्डन रोक्नु हो', उनले भने।
इनामको घोषणा गरिएका पोस्टरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। यो कदम अपराध नियन्त्रणमा नयाँ तरिकाको रूपमा चर्चामा आएको छ।
जनताले प्रहरीको यस कदमलाई अपराधीहरूलाई 'बाहुबली'को रूपमा महिमामण्डित गर्नुको साटो 'चवन्नी छाप' अपराधीको रूपमा देखाउने प्रयासको रूपमा लिएका छन्। यसले गर्दा अपराधीहरूको मनोबल कमजोर हुने विश्वास लिइएको छ।