१० असार २०८३, बुधबार

पालिका प्रमुख र प्रशासकीय अधिकृतका कारण कर्मचारीले चार महिनादेखि तलबभत्ता पाएनन्

मंसिर ६, २०८१
पर्सा
पालिका प्रमुख र प्रशासकीय अधिकृतका कारण कर्मचारीले चार महिनादेखि तलबभत्ता पाएनन्

पर्साको बहुदरमाई नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको वैमनस्यताका कारण कर्मचारी तथा जनप्रतिनिधिले साउन महिनादेखि तलबभत्ता पाएका छैनन् । 

चालु आर्थिक वर्षको खाता सञ्चालन नहुँदा नगरपालिकाको विकास निर्माणदेखि सुत्केरीभत्ता, दीर्घरोगीले पाउने सुविधा र विद्यार्थीले पाउने छात्रवृत्तिदेखि दैनिक खाजा खर्चसम्म सबै रोकिएको छ । 

स्थानीय तहले असार १० गतेभित्रै पालिकाको नगरसभाबाट आगामी आवको नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने व्यवस्था भए पनि नगरपालिकाले सो मितिमा नगरसभा गर्न सकेन ।  

नगरपालिकाभित्रको विवादको कारणले ढिलोगरी गत कात्तिक ८ गते नगरसभाबाट पालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याएको थियो । बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेलीले नगरसभाबाट बजेट स्वीकृत भएको झण्डै एक महिना बित्न लाग्दा पनि प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अधिकार प्रत्यायोजन नगर्दा जनप्रतिनिधि र कर्मचारी चार महिनादेखि तलबभत्ता तथा अन्य सुविधाबाट वञ्चित भएका हुन् । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७३ अनुसार नगरसभाबाट बजेट स्वीकृत भएको सात दिनभित्र प्रमुख वा अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई बजेटको खर्च गर्ने अख्तियारी दिनुपर्ने व्यवस्था छ । 

बहुदरमाई नगरपालिका उपप्रमुख सुष्माकुमारी कुशवाहाले नगरसभाबाट बजेट पारित भएको एक महिना बित्नै लाग्दा पनि नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारनामा नदिँदा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले तलबभत्ता नपाएको बताइन् ।

'मैले पटकपटक, प्रमुखसँग समन्वय गरिसके । तर, उहाँले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी नदिँदा अहिले नगरपालिकाको कर्मचारी तलब बेतनदेखि नगरपालिकाको सम्पूर्ण आर्थिक गतिविधि ठप्प छन्,' उनले भनिन्, 'नगरपालिका तथा सम्पूर्ण वडा कार्यालयमा कार्यरत कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक कर्मचारी, स्वास्थ्य निकायका कर्मचारीले २०८१ साउनदेखि तलबभत्ता पाएका छैनन् । विद्यार्थीले छात्रवृत्ति, दैनिक खाजा खर्च,सुत्केरी भत्ता सबै रोकिएको छ ।'  

पालिकामा रहेका कर्मचारी, जनप्रतिनिधि सामुदायिक विद्यालयका शिक्षक गरी झण्डै एक सयभन्दा धेरै कर्मचारी तथा जनप्रतिनिधिले साउनदेखि कात्तिकसम्मको कुनै पनि तलबभत्ता, दशैँ खर्चलगायत सुविधा पाएका छैनन् । 
 
उपप्रमुख कुशवाहाले साउनदेखि नगरभित्रका सम्पूर्ण विकास निर्माण कार्यहरू पनि रोकिएको जानकारी दिइन् । 

कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका प्रमुख यज्ञराज उप्रेतीले पर्साको बहुदरमाई गाउँपालिकाको खाता अहिलेसम्म पनि सञ्चालनमा नआएको बताए । आवश्यक समन्वय गरिरहे पनि अहिलेसम्म विवाद समाधान नभएको उनले बताए । 

गत कात्तिक ३० गते नगरपालिकाका उपप्रमुख कुशवाहा, वडा नम्बर १ का वडाध्यक्ष प्रमोदप्रसाद यादव, वडा नम्बर २ का वडाध्यक्ष जीतेन्द्र पटेल, वडा नम्बर ३ का दिनेश यादव, वडा नम्बर ४ का सुरेन्द्रप्रसाद यादव, वडा नम्बर ५ का वडाध्यक्ष सुनिल महत्तो कोइरी र वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्रप्रसाद गुप्ताले जिल्ला प्रशासन कार्यालय पर्सालाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका थिए । 

बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाले नगरप्रमुखले नगरसभाबाट पारित भएको बजेटको अख्तियारी नदिँदा कर्मचारी तथा जनप्रतिनिधिले तलबप्राप्त गर्न नसकेको बताए । 'नगरप्रमुख ज्यूले अख्तियारी नदिँदा पालिकाको खाता अझैसम्म पनि सञ्चालन गर्न सकिरहेका छैनौँ,' उनले भने । 

नगरपालिका प्रमुख तेलीले प्रमुख प्रशासकीय अधिकृतको असहयोगका कारण अख्तियारनामा दिन केही ढिलाइ भएको स्वीकार गरे । 'गत कात्तिक ८ गते नगरसभाबाट बजेट पारित गरेका छौँ । चाडपर्व र अन्य विविध कारणले अख्तियारी दिन केही समय लागेको हो,' उनले भने, 'मङ्सिरभित्रै अख्तियारी दिनेछु ।'

salt training

कमेन्ट गर्नुहोस्