१० असार २०८३, बुधबार

गाउँ फर्किएका रोकाको खेतमा माओवादी कार्यकर्ताको श्रमदान

मंसिर ६, २०८१
खोटाङ
गाउँ फर्किएका रोकाको खेतमा माओवादी कार्यकर्ताको श्रमदान

शहर छाडेर गाउँ फर्किएका अर्थशास्त्री तथा राजनीतिक विश्लेषक हरि रोकाको खेतमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङका नेता तथा कार्यकर्ताले श्रमदान गरेका छन् । 

काठमाडौं छाडेर ४० वर्षपछि विसं २०७९ मा सपरिवार गाउँ फर्किएका रोकाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित खेतमा पुगेर उनीहरूले श्रमदान गरेका हुन् । 
गाउँ छाडेर शहर जानेको सङ्ख्या वृद्धि भइरहेको बेला गाउँ फर्किएर खेती किसानी गरिरहेका रोकाको सम्मानस्वरूप धान काट्न सहयोग गरिएको नेकपा (माओवादी केन्द्र)का प्रदेश समिति सचिवालय सदस्य होमकाजी आचार्यले बताए ।

'पार्टीले आयोजना गरेको जनश्रमदान अभियानअन्तर्गत हरि रोकाको खेतमा पुगेर श्रमदान गरेका छौं । पछिल्लो समय गाउँ छाडेर शहर जानेको ताँती लाग्न थालेको छ । यो अवस्थामा शहरबाट गाउँ फर्किनुभई कृषि पेशामा लाग्नुभएका अर्थशास्त्री एवं राजनीतिक विश्लेषक रोकाको सम्मानका लागि श्रमदान गरिएको हो,' उनले भने ।

संविधानसभा सदस्यसमेत रहेका रोका गाउँ फर्किएर खेती किसानीमा लाग्नुले सकारात्मक प्रेरणा दिएको स्थानीयको भनाइ छ । धान काट्ने श्रमदानमा पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’, पार्टीका जिल्ला संयोजक दीपक पाण्डे, प्रदेश समिति सचिवालय सदस्य आचार्य, पालिका समिति अध्यक्ष राजेन्द्रकुमार राई, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव रविन खम्बूलगायत सहभागी थिए ।

सर्वसाधारणको खेतमा श्रमदान गर्ने योजना भए पनि सहरबाट फर्किएर गाउँमै सम्भावना देखाउन सङ्घर्ष गरिरहेका रोकाको हौसलाका लागि श्रमदान गरिएको माओवादी केन्द्रले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा दश हजार १८ दशमलव ०९ हेक्टर क्षेत्रफल खेतमा धान खेती हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्