
नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय हवाई भाडादरमा छुटको व्यवस्था गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको निर्देशनपछि निगमले भाडादरमा केही छुटको व्यवस्था गरेको हो ।
मन्त्री पाण्डेले बुधबार वायु सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरूलाई मन्त्रालय बोलाएर २४ घण्टाभित्र भाडा घटाउन निर्देशन दिएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ८ नोभेम्बरदेखि दैनिक १० घण्टा बन्द हुँदा उडान कटौती र यात्रुको चापका कारण हवाई भाडा अत्यधिक बढेको जनगुनासो आएपछि निगमले भाडा छुटको व्यवस्था गरेको हो ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दिल्ली, मुम्बई, बैंगलोर, दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता सेक्टरका भाडादरमा छुटको व्यवस्था गरेको छ।
दिल्ली, मुम्बई, बैंगलोर सेक्टरमा २५०० सम्म र दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता सेक्टरका लागि बजार भाडादरमा ५०० हजार रूपैयाँसम्म छुट दिइने प्रवक्ता पौडलले बताए ।
छुट सेवा लिनका लागि जहाजमा सिट उपलब्धताका आधारमा ‘पहिले आउनेलाई प्राथमिकता’ दिने प्रणाली लागू गरिएको छ। निगमका अनुसार टिकट लिन यात्रुहरूले आफ्नो परिचयपत्रसहित स्वयम् उपस्थित हुनुपर्नेछ । टिकट निगमको अन्तर्राष्ट्रिय टिकट बिक्री कार्यालयबाट लिन सकिने निगमले जनाएकोछ ।
हवाई भाडा गत वर्षकै भाडादरको सीमाभित्र रहेको बताउँदै निगमले कुनै पनि अनियमितता भएमा आवश्यक प्रमाणसहित जानकारी गराउन आमनागरिकलाई अनुरोध गरेको छ। कालोबजारी प्रमाणित भएमा नियमानुसार कडा कारबाही गरिने निगमको चेतावनी छ ।
निगमले नोभेम्बर १ देखि २२ सम्म काठमाडौं–दिल्ली–काठमाडौं सेक्टरका ३७ जना क्यान्सर पीडित बिरामीलाई १०० प्रतिशत छुटमा टिकट उपलब्ध गराएको छ भने उनीहरूका ३३ जना कुरुवालाई ५० प्रतिशत छुट दिएको छ।
यसका साथै २१ जना सरकारी कर्मचारीलाई पनि १५ प्रतिशत छुट प्रदान गरिएको निगम प्रवक्ता पौडेलले बताए । यो सुविधा डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसका आधारमा उपलब्ध गराइएको हो।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार यो व्यवस्थाले यात्रुहरूलाई केही राहत मिल्ने विश्वास लिइएको छ ।
