
संघर्ष, सपना पूरा गर्ने आधारशिला हो । त्यही आधारशिलामा आफूलाई दृढ राख्दै अगाडि बढिरहेका छन् डा. रामकामेश्वर ठाकुर । उनले आफ्नो जीवनलाई आयुर्वेदिक चिकित्सा सेवामा समर्पण गरेका छन् । प्रादेशिक आयुर्वेद चिकित्सालय राजपुर, कैलालीका प्रमुख डा. ठाकुरको ३६ बर्से यात्रा केवल जागिरमा मात्रै सीमित नभई समाज र स्वास्थ्य सेवाप्रति नै समर्पित छ । मधेश प्रदेशको रौतहटमा जन्मेका ठाकुरको जीवनको कथा सामान्य तर, भावुक छ, जसले उनलाई निरन्तर प्रेरणादायी व्यक्तित्वको रूपमा उभ्याएको छ ।
संघर्षको बाटोमा टेकेका पाइला
‘मेरो बाल्यकाल कुनै रङ्गिन पन्नाले सजिएको थिएन, दुःखको बुटोमा मात्रै रमाएको थिएँ,’ ठाकुर सम्झिन्छन् । रौतहटको ईशनाथ नगरपालिका–४, महुलियाको गाउँमा, सामान्य किसान परिवारमा उनको जन्म भएको थियो । परिवारमा पढाइभन्दा पनि दैनिकीका काम प्राथमिकतामा थिए ।
डा. ठाकुरको बाल्यकाल साधारण तरिकाले बित्यो । घरको काम, भैँसी चराउन जानु, घाँस काट्नु र खेत खन्नु नै उनका दैनिकी थियो । पढाइभन्दा परिवारमा यी कामलाई प्राथमिकता दिइन्थ्यो ।
उनका बुवा सधैं भन्थे, ‘कामेश्वर, मान्छे बन्न पढ्नुपर्छ ।’ तर, त्यो ‘पढ्नुपर्छ’ भन्ने शब्द बालक ठाकुरका लागि त्यतिखेर केवल हावाको संकेतजस्तो मात्र थियो ।
आठ कक्षा प्रवेश गर्दा उनलाई पहिलोपटक स्काउटको ड्रेस लगाउन पाउने अवसर मिल्यो र त्यही ड्रेसले उनलाई शिक्षा क्षेत्रप्रतिको मोह थपिदियो । ‘पहिलोपटक आफैंलाई स्कूलको पोसाकमा देख्दा ठूलो मान्छे भएको अनुभूति भयो,’ उनी मुस्काउँदै सम्झन्छन् ।
अनि पाइला मोडिए...
‘एसएलसी भनेको हाम्रो समयको एउटा ठूलो पहाड थियो,’ उनले स्मरण गरे । नौ कक्षामा बाँसको घरभित्रको टुक्कीको बत्तीको उज्यालोमा पढ्न थालेका ठाकुरले दश कक्षामा लालटिन किनेर बत्तीको उज्यालोमा रातभर पढाइ गरे । उनका साथीहरू प्रायः विद्यालय जान उत्साहित थिएनन्, तर उनी भने एसएलसी पास गर्ने पहिलो व्यक्ति बन्ने धोकोले रातभर जागा बस्थे ।
एसएलसी पास गरेपछि उनले शिक्षा क्षेत्रमा नयाँ ढङ्गले विचार गर्न थाले । सँगै जीवनमा नयाँ अवसर खोज्न शुरू गरे । विशेषगरी, एसएलसीको रिजल्ट आउने समयको एउटा घटना अझै पनि उनलाई सम्झनामा बस्छ ।
‘मैले साथीहरूलाई भनें– तिमीहरू जानू, म थाहा पाउँछु,’ विगत सम्झँदै उनी भन्छन् । तर, म घर पुगेको बेला गाउँमा खबर फैलिसकेको थियो कि मैले फर्स्ट डिभिजन ल्याएँ । सबैको आशा र विश्वासले मलाई अझ बलियो बनाएको थियो ।’
गाउँमा फस्ट डिभिजन पास गर्ने उनी नै पहिलो व्यक्ति थिए । उनको यो सफलता गाउँकै लागि गर्वको विषय बन्यो ।
साधारणबाट असाधारण बनाउने साहस
एसएलसीपछि जीवनको ठूलो मोड आएर उनले विभिन्न क्षेत्रका लागि फारम भरे । एसएलसीपछि उनले उच्च शिक्षा र करियरका लागि अनेक प्रयत्न गरे । एचए, आयुर्वेदतर्फको कविराज, वन र कृषिमागरी विभिन्न विद्यामा फर्म भरे । तीमध्ये उनको पहिलो प्राथमिकता भने एचए नै थियो । तर, उनको नाम फरेस्ट अर्थात् वनमा निस्कियो । अध्ययनका लागि उनी हेटौडा गए । त्यहीँ क्रममा उनको नाम आयुर्वेदतर्फको कविराजमा पनि निस्क्यो । उनका घरपरिवार आमाबुवा र ससुरालीपट्टिका बुवा आमाले वन क्षेत्र जोखिम भएकाले आयुर्वेदतर्फको कविराज नै पढ्न सुझाव दिए ।
परिवारको सुझावलाई स्विकार्दै उनले आयुर्वेदतर्फको कविराज अध्ययन रोजे । शिक्षण अस्पताल, महाराजगन्जस्थित नरदेवीमा उनले अध्ययन गरे र सँगसँगै लोकसेवाको तयारी पनि थाले ।
अध्ययनका लागि उनले नरदेवीको शिक्षण अस्पताल रोजे । ‘मलाई चुनौती सधैं मन पर्थ्यो, यहाँको शिक्षा र भविष्यप्रतिको आशाले पनि म हौसिएर लागेँ,’ उनी सम्झन्छन् । पढाइसँगै लोकसेवाको तयारी गर्दै थिए, पहिलो प्रयासमै वैद्य पदमा सफल भए ।
‘त्यो बेलामा एक तह तलको पदमा लोकसेवा दिन मिल्थ्यो । कविराजले थिए त्यही व्यवस्थाअनुसार वैद्य पदमा आवेदन दिएका थिए । त्यो बेलामा इन्टरभ्यु हुन्थ्यो लोकसेवामा लिखित हुन्थेन । मेरो पहिलो प्रयास नै सफल भयो,’ डा ठाकुरले भने ।
उनी २०४६ सालमा लोकसेवा उत्तीर्ण भए । लोकसेवा उत्तीर्ण भएपछि उनी आफूलाई खटाएको ठाउँ दार्चुला जान नेपालगन्जबाट भारतको बाटो हुँदै धार्चुलाबाट दार्चुला पुगे । दार्चुलामा गएर आफ्नो जिम्मेवारी बहनगरी २०४८ सालसम्म दार्चुलामै बसे ।
प्रथम दरबन्दीका रूपमा दार्चुला खलङ्गा आयुर्वेद औषधालय पुगेका ठाकुरलाई विकटताले कहिल्यै विचलित बनाउन सकेन । त्यहाँ पत्रपत्रिकासम्म महिनौंपछि आइपुग्थे, तर उनी आफैंमा अद्भुत ऊर्जा भरेर सेवा दिन तत्पर थिए । दार्चुलाको पहाडै पहाड, अप्ठ्यारा बाटा र सञ्चारको अभावले कठिनाइ ल्याउँथ्यो, तर उनी थाक्दैनथे ।
‘मेरो सफलता केवल मेरो सङ्घर्षको फल होइन, यो त्यहाँका प्रत्येक बिरामीको विश्वासको परिणाम हो, जसले मलाई अझै अघि बढ्न प्रेरित गरे,’ डा. ठाकुर आफ्ना अनुभवहरू सुनाउँदै भन्छन् ।
दुई पटक लोकसेवामा कविराज पदका लागि आवेदन दिने अवसर नै गुमाए पनि उनको उत्साह र साहस अडिग रह्यो । दार्चुलामा २०४८ सम्म सेवा गरेपछि उनी बिजौरी, दाङमा सरुवा भए । त्यसक्रममा लोकसेवामा कविराज पदमा नाम निस्क्यो । दाङमा काम गर्दा बढुवा भएपछि थप अध्ययनका लागि बीएमएस र एमबीबीएसको सँगै फारम भरे ।
बढुवापछि दाङबाट बझाङस्थित व्यासी आयुर्वेद औषधालयमा सरुवा भए । त्यहाँ एक हप्ता हाजिर भएपछि अध्ययन विधामा भारत गए । एमबीबीएस छनोट भएका उनले छात्रवृत्तिअन्तर्गत ग्वालियर आयुर्वेद कलेजमा अध्ययन गरे । २०५१ सालमा आएको बाढीका कारण एमबीबीएसमा भने सहभागी हुन सकेनन् । पाँच वर्ष भारतमा अध्ययनगरी उनी नेपाल फर्किए । ‘मेरो लागि आयुर्वेद सेवा भनेको धर्मजस्तै भयो,’ उनी भन्छन् । उनले बिरामीलाई सेवा गर्नुमा जीवनको सार देखे । विभिन्न स्थानमा आयुर्वेदिक उपचार पद्धतिको महत्त्व र प्रभाव विस्तार गर्न सफल डा. ठाकुरले जहाँ गए, त्यहाँ समाजसेवाको भावनाले काम गरे ।
बढुवा रोकियो, १० वषदेखि एउटै पदमा
डा. ठाकुरले २०५८ मा आयुर्वेद चिकित्सक आठौं तहमा नाम निकाले । लोकसेवामा शुरूमा वैद्य पदमा नाम निकालेपछि उनले फर्केर पछाडि हेर्नु परेन । पहिलो प्रयासबाटै उनी निरन्तर सफल हुँदै गए । त्यसपछि उनी छात्रवृत्तिअन्तर्गत नै एमडीमा छनोट भए र अध्ययनका लागि भारतको राजस्थान आयुर्वेद विश्वविद्यालय राष्ट्रिय आयुर्वेद संस्थान जयपुरमा अध्ययन गर्न थाले । त्यहाँ तीन वर्ष अध्ययनपछि उनी २०६३ सालमा अछाम जिल्लास्थित आयुर्वेद स्वास्थ्य केन्द्र अछाममा सरुवा भए । त्यहाँ उनले डेढ वर्ष सेवा गरे ।
त्यसपछि उनी वीरगन्जको पर्सा सरुवा भएर २०६५ मा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र २०६८ मा सोलुखुम्बु सरुवा भए । त्यही क्रममा उनी कन्सल्टेन्ट कुमार वृत्त चिकित्सक नवौँ तहमा उत्तीर्ण भए । नौ तहमा पुगेपछि त्यहाँबाट उनको सरुवा २०६९ मा काठमाडौंस्थित नरदेवी आयुर्वेद चिकित्सालयमा भयो । त्यहाँ उनले तीन वर्ष काम गरे । जहाँ उनले अध्ययन पनि गरेका थिए । त्यसपछि २०७१ मा उनी दसौं तहमा नाम निकाल्न सफल भए र प्रादेशिक आयुर्वेद चिकित्सालय बिजोरी दाङमा निमित्त निर्देशक पदमा जिम्मेवारी बहन गर्न गए । त्यहाँ उनलाई चुनौती पनि थियो । झन्डै तीन वर्ष त्यहाँ बसेका उनले उत्कृष्ट काम गरे ।
कोरोनाको समयमा नरदेवीमा फेरि सरुवा भयो । उनी दशौं तहमा बढुवा भएको १० वर्ष पुग्यो तर, अहिले भने दशौं तहमै थन्किनु परेको छ ।
जाने ठाउँ नहुँदा उनको बढुवा रोकिएको छ । यसमा विभाग र सरकारको लापरबाहीले उनलाई समस्या परिरहेको छ । ‘एघारौं तह बनायो भने ठाउँ बन्छ यसमा सरकारको इच्छाशक्ति अहिलेसम्म देखिएको छैन,’ उनी भन्छन् । १० वर्षदेखि बढुवा रोकिँदा उनीजस्तै १५/२० जना डाक्टरहरू प्रभावित बनेका छन् ।
उनको निजामती सेवाअन्तर्गत जागिरे जीवनका ३६ वर्ष पूरा भइसकेका छन् । ६० वर्षमा उमेर हदबन्दीका कारण सेवाबाट निर्वृत्त हुनुपर्छ । अहिले उनी ५६ वर्षका भइसके । अबजम्माजम्मी चार वर्ष उनीसँग छ ।
यो चार वर्षमा एघारौं तहमा बढुवा हुने उनको रहर हो तर, त्यो सम्भावना भने उनी आफैं निकै कम देख्छन् । ‘सरकारी प्रणालीको लापरबाहीले गर्दा हाम्रो बढुवा रोकिएको छ,’ उनी दुःखी हुँदै भन्छन् । विभिन्न तहको पदमा उनी जस्तै १५–२० जना डाक्टरहरू प्रभावित छन्, जसले उनीहरूको सेवा र योगदानलाई पनि रोकिएको छ । ‘यदि सरकारको इच्छाशक्ति छ भने ११ तह बनाइयोस्, यसले हामीलाई हाम्रो योग्यताअनुसार सेवा गर्न दिन्छ,’ उनी प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयलाई आग्रह गर्छन्।
प्रादेशिक आयुर्वेद चिकित्सालयलाई नमूना बनाउने सपना
अहिले पनि उनले उत्कृष्ट काम गरिरहेका छन् । गुणस्तरीय सेवा दिइरहेका छन् भने कार्यालयलाई पनि चुस्त दुरुस्त राखेका छन् । शनिवार र सार्वजनिक विदाका दिन पनि बिरामीको स्वास्थ्य उपचारका लागि सेवा प्रवाह गरिरहेका छन् । प्रादेशिक आयुर्वेद चिकित्सालय राजपुरलाई नमूना कार्यालय बनाउन आफू तल्लीन रहेको बताउँछन् । व्यवस्थित मानव स्रोत भौतिक पूर्वाधार र उपकरण व्यवस्थापनका लागि अथाह प्रयास गरिरहेका छन् । विभिन्न निःशुल्क सेवासहित सशुल्क र परामर्शका काम गरिरहेका छन् ।
‘यहाँको स्रोतसाधन, मानव स्रोत व्यवस्थापन र भौतिक पूर्वाधारको सुधार गर्दै नमूना बनाउने मेरो सपना हो,’ उनी भन्छन् । शनिबार र सार्वजनिक बिदाका दिन पनि उनी बिरामीलाई सेवा दिन त्यही उपस्थित हुन्छन् । ‘मेरो चाहना छ, यस अस्पताललाई प्रदेशको एक मात्र रेफरल सेन्टरका रूपमा चिनाउने,’ उनी भन्छन् ।
डा. ठाकुरले केवल आफ्नो पदमा मात्र सीमित नभई आयुर्वेदिक चिकित्सा क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने सपना बोकेका छन् ।
डा. राम कामेश्वर ठाकुरको जीवन सङ्घर्ष र सफलताको जीवित उदाहरण हो । ठूला सपना देखेर हरेक चुनौतीको सामना गर्दै अघि बढ्नुको महत्त्व उनले देखाएका छन् ।