
इराकको उत्तरी प्रान्त किर्कुकमा गरिएको हवाई आक्रमणमा इस्लामिक स्टेट (आईएस)का पाँच जना लडाकुको मृत्यु भएको इराकी सेनाले जनाएको छ ।
गुप्तचर रिपोर्टको आधारमा, इराकी सेनाले शुक्रबार प्रान्तीय राजधानी किर्कुकको पश्चिममा रहेको दुर्गम क्षेत्रमा आईएस लडाकु लुकेको ठाउँमा हवाई आक्रमण गरेको इराकी संयुक्त अपरेसन कमान्डसँग सम्बद्ध मिडिया आउटलेट सुरक्षा मिडिया सेलले जनाएको छ ।
इराकी सेना र गुप्तचरको संयुक्त बलले शनिबार बम विस्फोट भएको स्थानमा पाँचजना 'आतंककारी'को शव फेला पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा चार राइफल, दुई विस्फोटक बेल्ट, छ वटा ह्यान्ड ग्रेनेड, गोलाबारुदलगायत सञ्चार उपकरणहरू पनि फेला पारेको उल्लेख गरेको छ ।
सन् २०१७ आईएसको पराजयपछि इराकको सुरक्षा स्थितिमा केही सुधार आएको थियो यद्यपि, अझै पनि सहरी तथा दुर्गम क्षेत्रहरूमा लुकेका आईएसका अवशेषहरूले सुरक्षा बल र नागरिकहरू विरुद्ध बारम्बार आक्रमण गर्दै आइरहेका छन् ।