
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गङ्गा पासवानसहित ५ जनालाई २ वर्ष ६ महिना कैदको फैसला भएको छ ।
विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार उनीहरूलाई सजाय निर्धारण गरेको हो ।
विशेषले उनीहरूलाई जनही २१ लाख ६० हजार जरिवाना, २ वर्ष ६ महिना कैद र बिगो बमोजिम जरिवानाको फैसला सुनाएको हो ।
विशेषले उनीहरूलाई कात्तिक २८ गते भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमेयर पासवानसहित प्रमुख प्रशासकीय अधिकृत मण्डल, निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादवलाई प्रतिवादी बनाएर २०८० चैत १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
आयोगले उनीहरूसँग १ करोड ८ लाख रुपैयाँ बिगो मागदाबी गरेको थियो ।
कर्जन्हा नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ मा प्रशासनिक भवन निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।