
विश्वका सबैभन्दा वृद्ध व्यक्ति, बेलायती जोन टिनिसवुडको ११२ वर्षको उमेरमा निधन भएको छ । उनको उत्तरपश्चिम इङ्गल्यान्डको साउथपोर्टमा रहेको केयर होममा निधन भएको गिनिज वर्ल्ड रेकर्डले उनको परिवारलाई उद्धृत गर्दै बताएको छ ।
टिनिसवुडको जन्म सन् १९१२ अगस्ट २६ मा लिभरपुलमा भएको थियो र सोमबार उनको निधन भयो ।
अप्रिलमा भेनेजुएलाका ११४ वर्षीय जुआन भिसेन्टे पेरेजको निधनपश्चात् उनी विश्वका सबैभन्दा वृद्ध व्यक्ति बनेका थिए ।
'उहाँको अन्तिम दिन संगीत र प्रेमले घेरिएको थियो', परिवारले एक विज्ञप्तिमा भनेको छ, 'वर्षौंदेखि उहाँको हेरचाह गर्ने सबैलाई धन्यवाद ।'
टाइटानिक जहाज डुबेको वर्ष जन्मिएका र दुवै विश्वयुद्धबीच जीवित रहेका टिनिसवुडले गिनिज विश्व रेकर्ड्सलाई आफ्नो दीर्घायुको रहस्य ‘शुद्ध भाग्य’ रहेको बताएका थिए ।
उनले स्वस्थ रहन सबै कुरामा संयम अपनाउन सल्लाह दिएका थिए ।
दोस्रो विश्वयुद्धको समयमा टिनिसवुडले रोयल आर्मी पे कर्प्समा प्रशासनिक भूमिका निर्वाह गरेका थिए । पछि शेल र बीपी जस्ता तेल कम्पनीहरूमा हिसाब किताबको काम गरे ।