
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले नारायण गोपाल संगीत कोषको भवनमा लिफ्ट राखेर पहुँचयुक्त बनाउन र भित्री संरचनाका सुविधालाई लैङ्गिकमैत्री बनाउन निर्देशन दिएकी छन् ।
निर्माणाधीन भवनको अनुगमनका क्रममा लिफ्ट जडानको योजना नभएको जानकारी पाएपछि उपप्रमुख डंगोलले यस्तो निर्देशन दिएकी हुन् । ‘सार्वजनिक संरचना सबैका लागि हुन् । अपाङ्गता भएका व्यक्ति जान नसक्ने भयो भने त्यो अधुरो हुन्छ’, डंगोलले भनिन्, ‘भवन भित्रका शौचालय महिला र बालबालिकामैत्री हुनुपर्छ ।’
भवन निर्माणका लागि २०८० चैत ७ मा कार्यादेश दिएको दिइएको थियो । यसको निर्माण कार्य आउँदो माघ मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने छ । चार तले भवन करिब २ करोड ८ लाख रूपैयाँ लागतमा निर्माण भइरहेको छ ।
इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार भवनको जमिन तला र पहिलो तला कार्यालय प्रयोजनका लागि हुनेछ । दोस्रो तलामा साउण्ड प्रुफ स्टूडियो बनाइनेछ ।
भवनको बाहिरी स्वरूप परम्परागत नेपाली शैलीको छ । भवनको जम्मा क्षेत्रफल ६ हजार ५५६ वर्गफुट छ । यसको प्लिन्थ क्षेत्रफल १ हजार ५४६ वर्गफिट हो । भूमिगत र जमिन तला बाहिर गरेर १० वटा चारपाङ्ग्रे सवारी साधन र २० वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिनेछ ।

उपप्रमुख डंगोलले बुधबार नै गैरीधाराको सहमति मार्गको अनुगमन गरिन् । यस मार्गमा सडक र ढल मर्मत गर्ने काम भएको थियो । २०७९ वैशाख १५ गते सम्झौता भएको यो काम २०८० को असोज मसान्तभित्र सक्नुपर्ने थियो । यस अवधिमा काम नसकिएपछि २०८१ असोज ३० गतेसम्मका लागि म्याद थपिएको थियो । यसका लागि ३७ लाख ३१ हजार रूपैयाँ विनियोजन भएको थियो । ९० मिटर लम्बाइ र २ मिटर चौडाइ भएको सडक खण्ड अनुगमनका क्रममा स्थानीयले खानेपानी आउन छोडेको गुनासो गरेका छन् ।
इञ्जिनियर सन्दीप ढकालका अनुसार ढल विस्तार र मेनहोल बनाउने काम सकिएको छ । सडक खनेको समयमा काठमाडौं उपत्यका खानेपानी आयोजनासँग समन्वय गरेर पानी वितरणको पाइप पनि राखिएको छ । यसपछि सडक कालोपत्रे गर्ने र ढलानको काम बाँकी छ ।
