०५ साउन २०८३, मंगलबार

हिजबुल्लाहसँग युद्धविराम भएसँगै इजरायलले नेपाली ‘केयरगिभर’ लैजाने

मंसिर १२, २०८१
काठमाडौं
हिजबुल्लाहसँग युद्धविराम भएसँगै इजरायलले नेपाली ‘केयरगिभर’ लैजाने
तस्वीर : रासस ।

इजरायलले हिजबुल्लाह समूहसँग युद्धविराम गरेसँगै नेपाली ‘केयरगिभर’ लैजाने भएको छ । 

इजरायली राजदूत शुमलिक एरी बासले बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्दै केयरगिभरका रूपमा छनोट भएका नेपाली कामदारलाई अब इजरायल लैजाने बताएका हुन् । 

राजदूत बासले नेपाली कामदार केयरगिभिङका क्षेत्रमा उत्कृष्ट रहँदै आएको र हाल इजरायलमा युद्धविराम समेत घोषणा भइसकेको हुँदा उत्तीर्ण भएका सबै नेपाली कामदारहरूलाई क्रमशः लैजाने जानकारी गराए । उनले नेपाली कामदारहरूलाई कृषि, निर्माणलगायत अन्य क्षेत्रमा समेत लैजान सकिने बताए । 

मन्त्रालयमा भएको उक्त भेटवार्तामा नेपाल र इजरायलबीच भएको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन, ‘केयरगिभर’का रूपमा छनोट भएका नेपाली कामदारलाई यथाशीघ्र इजरायल पठाउने र कामदारको स्रोत मुलुकका रूपमा नेपाललाई इजरायलले सूचीकृत गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले मन्त्री भण्डारी र राजदूत बासबीच कृषि, निर्माणलगायत अन्य क्षेत्रमा नेपाली कामदार पठाउनका लागि पहल गर्ने, कृषि प्रविधि हस्तान्तरण गर्ने, सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण, श्रमिकको हकअधिकार संरक्षण र सुरक्षालगायत विषयमा दुवै देशबीच थप कूटनीतिक पहल गर्ने विषयमा छलफल भएको जानकारी दिए । 

मन्त्री भण्डारीले इजरायल जान छनोट भई पर्खाईमा रहेका नेपाली कामदारलाई यथाशीघ्र पठाउन परराष्ट्र मन्त्रालयसँग समन्वय र पहल गर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्