
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता भएको छ । उनीहरूबीच चीनको छन्दु शहरमा आज अपरान्ह भेटवार्ता भएको हो ।
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमण गर्न तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका सिलसिलामा मन्त्री डा. राणा बिहीबार त्यसतर्फ प्रस्थान गरेकी थिइन्।
उनीहरूबीच नेपाल चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देशबीचको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।
सो भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा पनि दिएकी छिन् ।
वार्ताका क्रममा चीनको ७५औं स्थापना दिवस र आगामी वर्ष नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवका अवसरमा विदेशमन्त्री वाङमार्फत चीन सरकार र चिनियाँ नागरिकलाई मन्त्री डा. राणाले बधाई ज्ञापन गरिन् ।
मन्त्री डा. राणाले पछिल्लो समय नेपाल चीन सम्बन्धमा उल्लेखनीय उपलब्धिहरू हासिल भएका र यसका कारण सम्बन्ध थप बलियो बन्दै गएको बताइन् ।
चीन भ्रमण गर्ने नेपाली नागरिकहरूलाई हालै भिसा शुल्क नलाग्ने घोषणा गरेकोमा चीन सरकारलाई उनले धन्यवाद दिइन् ।