०५ असार २०८३, शुक्रबार

मतदाता परिचयपत्र छैन?, नागरिकतादेखि लाइसेन्ससम्मले पनि हाल्न पाइनेछ भोट

मंसिर १५, २०८१
काठमाडौं
मतदाता परिचयपत्र छैन?, नागरिकतादेखि लाइसेन्ससम्मले पनि हाल्न पाइनेछ भोट

निर्वाचन आयोगले भोलि आइतबार हुने स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन हुने वडामा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई आफूले रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले अनुरोध गरेको छ । 

आयोगकी प्रवक्ता नीता पोखरेलद्वारा जारी विज्ञप्तिमा आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मताधिकारको उपयोग गर्न अनुरोध गरिएको छ ।

मतदातालाई सहजता प्रदान गर्ने अभिप्रायले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणपत्रका आधारमा पनि मतदानको व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।  

मतदाताको सहजताका लागि मतदानस्थलको निश्चित क्षेत्र बाहेक निर्वाचन सुरक्षामा असर नपर्नेगरी यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत गरिएको आयोगले जनाएको छ । 

साथै, मतदान हुने सम्बन्धित स्थानीय तह र वडामा सार्वजनिक विदाका लागि आयोगले सम्बन्धित निकायलाई अनुरोध गरेको छ । 'मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न, मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन, मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने/गराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षक लगायत सबै सरोकारवालाको सहयोग हुनेछ भन्ने आयोगले विश्वास लिएको छ,' विज्ञप्तिमा भनिएको छ । 

मतदानमा अवाञ्छनीय प्रभाव पार्ने वा पार्न प्रयत्न गर्ने कार्य भए गरेको पाइएमा जो कोहीलाई प्रचलित कानून बमोजिम कारबाही गरी मतदान कार्यलाई निर्वाध रूपमा सम्पन्न गर्न आयोगले सम्बद्ध निकायहरूलाई निर्देशन दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्