२५ जेठ २०८३, सोमबार

कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...

मंसिर १५, २०८१
काठमाडौं
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...

सर्वाधिक चासो र चर्चामा रहेको नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपिएल) शनिबारदेखि काठमाडौँमा सुरू भयो । 

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्गसलाई आठ विकेटले हरायो । विराटनगरले दिएको एक सय २७ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव तीन ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो ।

त्रिवि क्रिकेटमा मैदानमा समर्थकको ‘क्रेज’ पनि उत्तिकै थियो । रङ्गशालामा दर्शकहरू खचाखच थिए । कोही रूखमा चढेर क्रिकेट हेर्न बाध्य भए भने केहीले टिकट काटेर पनि खेल हेर्न पाएनन् । 

शनिबार भएको एनपिएलकोे पहिलो खेल मध्याह्न सवा १२ बजे सुरू भएको थियो तर समर्थकहरू बिहान ९ बजेदेखि नै रङ्गशालामा पुगेका थिए । कीर्तिपुरमा जनकपुर बोल्ट्स र  विराटनगर किङ्गसका समर्थकहरूले प्लेकार्ड, नेपालको झण्डासहित मैदानमा पुगेका  थिए । तर, रङ्गशालामा जनकपुर र विराटनगरका समर्थक मात्रै थिएनन् । नेपाली क्रिकेटलाई माया गर्ने क्रिकेटप्रेमीको उपस्थिति पनि बाक्लै थियो । उनीहरू कुनै टोलीको समर्थनमा नभएर नेपाली खेलाडीहरूको समर्थनमा खेल हेर्न पुगेका थिए । 

कीर्तिपुरमा हेर्न पुगेका क्रिकेटप्रेमीमध्ये एक थिए, अर्घाखाँचीका उत्तम गैरे । उनी बिहान १० बजे नै खेल हेर्न कीर्तिपुर मैदानमा पुगेका थिए । उनले एनपिएलमा लुम्बिनी लायन्सको समर्थनमा रहेको बताए। तर नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू र अन्न विदेशी खेलाडीहरू खेल्ने भएकाले खेल हेर्न पुगेको प्रतिक्रिया दिए। नेपालको घरेलु क्रिकेट भएकाले कुनै टोलीभन्दा सबै टोलीप्रति आफ्नो समर्थन रहने उनले बताए ।

    “नेपाली अन्य विदेशी टोलीहरूसँग खेलेको भए, खुलेरै नेपालको समर्थनमा हुन्थे । तर यो घरेलु क्रिकेट हो”, उनले भने, “नेपाली राष्ट्रिय क्रिकेट टोली सदस्यहरू विभिन्न टोलीमा हुनुहुन्छ । आफू लुम्बिनी प्रदेशको बासिन्दा भएकाले लुम्बिनी लायन्सलाई समर्थन गर्नु स्वभाविक हो । तर, मेरो समर्थन सबै टोलीलाई छ ।”

कीर्तिपुरमा  मैदानमा पाल्पाकी राधिका सुवेदी पनि खेल सुरू हुनुभन्दा दुई घण्टा अगाडि नै पुगेकी थिइन् । उनले पनि नेपाली क्रिकेटको समर्थनमा खेल हेर्न आएको प्रतिक्रिया दिइन्। “नेपालका इतिहासमा पहिलोपटक आयोजना भएको खेल हो । सबै टोलीको नेपाली खेलाडीले कप्तानी गर्नुभएको छ । उपाधि जसले जिते पनि त्यो जित नेपाली क्रिकेट कै हो”, सुवेदीले भनिन्। 

पोखराका अमृतराज पौडेल पनि शनिबारको खेल हेर्न कीर्तिपुर मैदानमा पुगे । आफू नेपाली क्रिकेट र खेलाडीको समर्थक भएको हुनाले खेल हेर्न पुगेको प्रतिक्रिया दिए । उनले नेपाली क्रिकेट र नेपाली खेलाडीहरूको भविष्य उज्ज्वल रहेको पनि बताए । 

पछिल्लो केही वर्षयता नेपाली क्रिकेटको अवस्था पनि सुधारिँदै गएको छ । क्रिकेटमा नेपालमा मुहार फेरेसँगै क्रिकेट समर्थकहरूको क्रेज पनि बढ्दै गइरहेको छ । 

एनपिएलका लागि नेपाली समर्थकको क्रेज कतिसम्म बढेको थियो भन्ने उद्घाटन खेलको टिकट बिक्रीबाटै प्रस्ट आङ्कलन गर्न सकिन्थ्यो । क्यानले एनपिएलकोे उद्घाटन खेलका लागि १० हजार टिकट बिक्रीका लागि राखेको थियो । त्यसको २४ घण्टामै भिआइपीतर्फका आठ सय र सामान्यतर्फका नौ हजार दुई सय टिकट बिक्री भएका थिए अर्थात्, खेल सुरू हुनु तीन दिनअगावै नै सबै टिकट बिक्री भइसकेका थिए । 

सोमबारदेखि लिग चरणका अन्य खेलहरू हुँदैछन् । खेलहरूका लागि सामान्यतर्फ रू तीन सय र भिआइपीतर्फ रू पाँच सय टिकट मूल्य तय गरिएको छ । 

एनपिएलको ‘प्लेअफ’ का खेल हेर्न दर्शकहरूले सामान्यतर्फ रू पाँच सय र भिआइपीतर्फ रू सात सयको टिकट काट्नुपर्नेछ । त्यस्तै, फाइनल खेलका लागि भने सामान्यतर्फ रू पाँच सय र भिआइपीतर्फ रू एक हजार टिकटको मूल्य तोकिएको क्यानले जनाएको छ । 

एनपिएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्स र विराटनगर किङ्गससहित सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र पोखरा एभेन्जर्स गरी आठ टोली सहभागी छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्