२५ जेठ २०८३, सोमबार
स्थानीय तह उपनिर्वाचन

कीर्तिपुरमा मतदान सकिएलगत्तै आजै गणना शुरू गर्ने आयोगको तयारी

मंसिर १६, २०८१
काठमाडौं
कीर्तिपुरमा मतदान सकिएलगत्तै आजै गणना शुरू गर्ने आयोगको तयारी

काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख र दुई वडाध्यक्षका लागि भइरहेको उपनिर्वाचनको मतगणना आजै शुरू हुने भएको छ । मतदानको समय सकिएपछि मतपेटिका संकलन गरेर आजै रातिबाट मतगणना गर्ने काठमाडौंका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए । 

कीर्तिपुरमा ३१ हजार ११२ मतदाता रहेका छन् । बिहान ७ बजेदेखि शुरू भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । १२ बजेसम्म कीर्तिपुरमा ३५ प्रतिशत मत खसेको छ । 

कीर्तिपुर नगरपालिका प्रमुख, यसका १ र ४ वडाका वडाध्यक्षका लागि अहिले मतदान भइरहेको छ । १० वटा वडा रहेको कीर्तिपुरमा २० मतदानस्थल र ३८ वटा मतदान केन्द्र छन् । 

मेयर र वडाध्यक्षको मतगणना कीर्तिपुर नगरपालिका कार्यालयको सभाहलमा आजै रातिदेखि हुने भट्टराईले जानकारी दिए । काठमाडौं-१६ को मतगणना पनि आजै हुने जानकारी उनले दिए । यी तीनवटै वडाको परिणाम रातभरमा आइसक्ने छ । 

उपनिर्वाचनमा कीर्तिपुरको मेयरमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका राजनीतिक दल र स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् ।

कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट सुरेन्द्र मानन्धर, माओवादीबाट शिवशरण महर्जन प्रतिस्पर्धामा छन् । परम्परागत दललाई स्वतन्त्रका राजमान महर्जनले टक्कर दिने सक्ने आकलन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्