
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिक मताधिकारको अभ्यासमा मतदाताहरूमा वितृष्णा तथा निराशा देखिएको बताएको छ ।
आइतबार भएको उपनिर्वाचनमा अपेक्षित नतिजा हासिल गर्न नसकेको रास्वपाले लोकतन्त्रको महत्त्वपूर्ण अंगका रूपमा रहेको आवधिक निर्वाचनमा सहभागी हुने औसत मतदाता घट्दो क्रममा रहेको उल्लेख गर्दै मतदातामा वितृष्णा र निराशा देखिएको बताएको हो ।
'लोकतन्त्रको महत्त्वपूर्ण अंगका रूपमा रहेको आवधिक निर्वाचनमा सहभागी हुने औसत मतदाता घट्दो क्रममा छ । यसले नागरिक मताधिकारको अभ्यासमा मतदाताहरूमा वितृष्णा तथा निराशा देखिएको छ', स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'यसतर्फ संवेदनशील भई मतदाताहरूलाई मतदानमा सहभागी हुन प्रेरित गर्नका साथै निर्वाचित जनप्रतिनिधिहरूले निभाउनुपर्ने भूमिका र गर्नुपर्ने कार्यसम्पादनका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी सचेत रहेको छ ।'
स्थानीय तहको निर्वाचनमा रास्वपा सहभागी भएको पहिलो पटक भएकाले उपनिर्वाचन एक नयाँ अनुभवका रूपमा रहेको पराजुलीले बताएका छन् । काठमाडौं महानगरपालिका-१६ मा वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठको विजयले महानगरमा एक महिला वडाध्यक्ष प्रवेश गराउन सफल भएको समेत उनले बताएका छन् ।
लोकतान्त्रिक व्यवस्थालाई अभ्यास गर्ने एक महत्त्वपूर्ण स्तम्भका रूपमा रहेको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित रूपमा सम्पन्न गर्न सकिए मात्र लोकतन्त्रको आत्मा र लोकतन्त्रप्रति नागरिकको विश्वास कायम रहने पराजुलीले बताएका छन् ।
उनले स्थानीय तह उपनिर्वाचनमा रास्वपाका उम्मेदवारलाई मतदान गर्ने मतदाताहरूलाई धन्यवाद समेत दिएका छन् । निर्वाचन सम्पन्न गर्न खटिएका निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति समेत रास्वपाले आभार व्यक्त गरेको छ ।
