
ललतिपुर २६ कात्तिक– ललितपुर क्षेत्र नम्बर ३ बाट वामपन्थी गठबन्धनकी माओवादी उम्मेदवार पम्फा भुसालले सफा र हरियालीयुक्त ललितपुरलाई चुनावी एजेण्डा बनाएकी छिन् ।
माओवादी केन्द्रकी प्रवक्ता समेत रहेकी भुसालले ललितपुरको समृद्धि सहितको प्रतिबद्धता आइतवार सार्वजनिकगर्दै ‘क्लिन एण्ड ग्रिन ललितपुर’को अबधारणा सार्वजसनिक गरेकी हुन् ।
प्रतिनिधिसभा तर्फ भुसाल र प्रदेश सभातर्फ क मा माओवादीका राजकाजी महर्जन तथा ख मा जीवन खड्का उम्मेदवार छन् । प्रतिनिधि सभातर्फकी प्रत्यक्ष उम्मेदवार भुसालले ललितपुर कला संस्कृतिको राजधानी भएकोले यसको संरक्षण र प्रबद्धन मार्फत पर्यटन विकास गर्न सकिने बताइन् ।
‘कला संस्कृति र सम्पदामा आधारित पर्यटन विकास गर्ने मेरो योजना छ’ २०६४ सालको संविधानसभा चुनावमा ललितपुरबाट विजयी भुसालले भनिन, ‘पर्यटन केन्द्रीत भएर आर्थिक विकास र समृद्धि हासिल गर्नु हामीहरुको चुनावी एजेण्डा हो ।’ उनले स्वच्छ र सफा ललितपुर बनाउनको लागि प्रत्येक घरमा रुख विरुवा रोप्ने अभियान नै संचालन गर्ने बताइन् ।
राजनीतिक स्थिरता र आर्थिक विकास वामपन्थी गठबन्धनको नारा रहेको र केन्द्रीय घोषणापत्रमा उल्लेखित कार्यक्रम लागू गर्ने उनले प्रतिबद्धता जनाइन् । ललितपुर ३ मा नेपाली कांग्रेसका तर्फबाट मदन अमात्य उम्मेदवार छन् ।