
रोल्पा, २६ कात्तिक– माइन विस्फोटमा परेको २१ घण्टा नवित्दै नेकपा माओवादी केन्द्रका नेता एवं वाम गठवन्धनका उम्मेदवार वर्षमान पुनमाथि गोली प्रहार भएको छ ।
रोल्पा दुईखोली गाउँपालिका–६ को वागमारामा आयोजित चुनावीसभालाई सम्बोधन गर्न जान लागेका पुनलाई लक्षित गर्दै गोली प्रहार भएको थियो ।
दिउँसो साढे ११ बजे उनलाई लक्षित गर्दै पेस्तोलबाट गोली चलाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले उनको सवारीलाई लक्षित गर्दै फायर भएको जानकारी दिए ।
पुनलाई लक्षित गर्दै गोली चलेपछि प्रहरीले जवाफी फाइरिङ समेत गरेको थियो ।
यसअघि शनिवार पुनलाई लक्षित गर्दै एम्बुस आक्रमण भएको थियो । उनीसहित अन्य उम्मेदवार सवार गाडीमा समेत क्षति पुगेको थियो ।
यस लगत्तै वाम गठवन्धनले आफ्ना उम्मेदवारहरुको ज्यान लिन खोजको भन्दै आपत्ति समेत जनाएको थियो ।
आमसभालाई सम्बोधन गर्न जान लागेका पुनमाथि भीरबाट ढुंगासमेत गुल्टाइएको थियो । त्यसमा संलग्न विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।