०२ साउन २०८३, शनिबार

न्यायालय लयमा आयो अब गरिमामय बनाउनुछ, साथ दिनुस् : प्रधानन्यायाधीश राउत

मंसिर २२, २०८१
काठमाडौं
न्यायालय लयमा आयो अब गरिमामय बनाउनुछ, साथ दिनुस् : प्रधानन्यायाधीश राउत

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सबैको अथक प्रयासले अहिले न्यायालय एउटा लयमा फर्किएको बताएका छन् । काठमाडौंमा वरिष्ठ अधिवक्ताहरूलाई प्रमाणपत्र वितरण समारोहमा उनले लयमा फर्किएको न्यायालयलाई अब गरिमामय बनाउनुपर्नेमा जोड दिए । 

‘न्यायालय लयमा फर्किएकामा मात्रै चित्त बुझाउने हो कि गरिमामय बनाउने हो, यो आफैं गरिमामय त बन्दैन है । यसलाई गरिमामय बनाउने जिम्मेवारी वर्तमान परिवेशले हामी सबैलाई सुम्पेको छ’, प्रधानन्यायाधीश राउतले भने, ‘हामीले आफूलाई निर्मम समीक्षा गर्न जरूरी छ, हामीले न्यायालयलार्ई गरिमामय बनाउन सकिरहेका छौं कि छैनौं, त्यसतर्फ हाम्रो भूमिका उन्मुख छ कि छैन ? विचार गर्नुपर्ने भएको छ ।’

उनले आफू भने न्यायालयलाई गरिमामय बनाउन तयार रहेको बताउँदै साथ दिन वरिष्ठ अधिवक्ताहरूसँग अनुरोध गरे । ‘तपाईंहरूको साथ सहयोग र सहकार्य गर्न पाए न्यायालय गरिमामय नहुने कुरै छैन, एकपटक प्रयास त गरौं’, उनले भने ।

उनले वरिष्ठ अधिवक्ताले उच्च तहको मर्यादाको अभ्यास गर्नुपर्नेमा जोड दिँदै नैतिकताको लक्ष्मण रेखाभित्र बस्न सक्न आग्रह गरे । प्रधानन्यायाधीश राउतले निजी स्वार्थ, अनुचित, नाजायज र बेमनासिब कुरालाई त्याग्न सकिएन भने नैतिकता जोगाउन नसकिने बताए । 

प्रमाण र कानूनका आधारमा न्याय दिनै सकिँदैन भन्ने जस्ता मुद्दा अदालत पुगेको सन्दर्भ जोड्दै उनले भने, ‘कहिले साथी, कहिले पावर सेन्टरको दबाबमा कहिलेकाहीँ आकर्षक पारिश्रमिकको आधारमा पुग्छ नि, त्यतिखेर टिक्दै नटिक्ने मुद्दामा वरिष्ठज्यूहरूको अदालतमा उपस्थिति देखियो भने इमेज कस्तो होला ?, स्तर कस्तो होला ? अरूले पनि नियाल्छ नि, जस्तै हामी न्यायाधीशहरूलाई अरूले नियालेका छन् नि, इमेज कस्तो हुन्छ ? यसको उत्तर मैले दिनु शोभनीय हुन्न, यो जिम्मा मैले तपाईंहरूलाई छाडेँ ।’

महान्यायाधिवक्ता रमेश बडालले वरिष्ठ अधिवक्ताको गरिमा जोगाउन कानून व्यवसायीहरूलाई अनुरोध गरे । अर्धन्यायिक निकायमा वरिष्ठ अधिवक्ताहरू जान नहुने, कुनै पनि मुद्दाका बहसमा जाँदा एकजना अधिवक्ता सहयोगी भएर जानुपर्ने स्पष्ट व्यवस्था भए पनि त्यो अभ्यास नभएको उल्लेख गर्दै उनले यसतर्फ वरिष्ठ अधिवक्ताहरूले ख्याल गर्नुपर्नेमा जोड दिए । 

समारोहमा वरिष्ठ अधिवक्ताको प्रमाणपत्र ग्रहण गरेका डा भीमार्जुन आचार्यले अब न्याय निरूपणमा प्रविधिको विकासले चुनौती खडा गरेकाले त्यसतर्फ ध्यान दिन सकिएन भने गरिमामाथि आँच आउने बताए । उनले अधिवक्ताहरूले पनि विधागत विशेषज्ञ भएर अघि बढ्न जरूरी रहेको औंल्याए ।     
     
समारोहमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ अधिवक्ता कविता बस्नेतलगायतले धारणा राखे। शनिबार भएको कार्यक्रममा प्रधानन्यायाधीश राउतले १५९ जना वरिष्ठ अधिवक्ताहरूलाई प्रमाणपत्र प्रदान गरे । 

salt training

कमेन्ट गर्नुहोस्