
सिरियाका विद्रोही समूहहरूले राजधानी दमास्कस बसर अल-असदको शासनबाट मुक्त भएको घोषणा गरेका छन् । विद्रोही पक्षले राष्ट्रपति असद राजधानी छोडेर भागेको दाबी समेत गरेको छ ।
विद्रोहीहरूको सैन्य अपरेसन कमान्डले टेलिग्राममा एक सन्देश लेखेको छ– 'हामी दमास्कस निरंकुश बशर अल-असदबाट मुक्त भएको घोषणा गर्दछौं ।'
यसअघि विद्रोहीले राजधानी दमास्कसको उत्तरमा रहेको सैदनाय सैनिक जेल आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका थिए । सिरियाको राजनीतिक र सांस्कृतिक केन्द्र मानिएको दमास्कस लामो समयदेखि असद शासनको नियन्त्रणमा थियो ।
प्रधानमन्त्री विद्रोहीको पक्षमा
विद्रोहीले दमास्कस नियन्त्रणमा लिएको दाबी गरेसँगै सिरियाली प्रधानमन्त्री मोहम्मद गाजी अल-जलालीले जनताले चुनेको नेतृत्वसँग सहकार्य गर्न सरकार तयार रहेको बताएका छन् ।
आइतबार बिहान एक सन्देश दिँदै उनले शान्तिपूर्ण र व्यवस्थित सत्ता हस्तान्तरणका लागि सरकार प्रतिबद्ध रहेको भन्दै राज्यका सम्पत्तिको संरक्षण गर्न नागरिकलाई आह्वान गरे ।
उनले भने, 'हामी जनताले चुनेको कुनै पनि नेतृत्वसँग सहकार्य गर्न तयार छौं । सबै सम्भावित सहयोग प्रदान गरी सरकारी काम कारबाहीको सहज र व्यवस्थित हस्तान्तरण सुनिश्चित गर्दै राज्यका सुविधाहरूलाई जोगाउन काम गर्नेछौं ।'
के भने विद्रोही नेताले ?
सिरियाली विद्रोही समूह हयात तहरिर अल-शामका नेता अहमद अल-शराअ (जसलाई अबु मोहम्मद अल-जोलानी नामले चिनिन्छ)ले पनि राज्यका संस्थानहरूलाई हानी पुर्याउनबाट टाढा रहन विद्रोही समूहहरूलाई निर्देशन दिएका छन् ।
उनले टेलिग्राममा लेखेका छन्, 'दमास्कस शहरमा रहेका सबै सैन्य बललाई राज्यका संस्थानहरूमा नजिक जान पूर्णरूपमा प्रतिबन्धित गरिएको छ । ती संस्थाहरूलाई पूर्वप्रधानमन्त्रीको नियन्त्रणमा रहने गरी औपचारिक रूपमा हस्तान्तरण नहुन्जेलसम्म सुरक्षित राख्नुपर्छ ।'