०४ साउन २०८३, सोमबार

कोशीमा अढाई अर्ब लागतमा चार पदमार्ग बनाइने

मंसिर २३, २०८१
विराटनगर
कोशीमा अढाई अर्ब लागतमा चार पदमार्ग बनाइने

कोशी प्रदेशमा करिब अढाई अर्बको लगानीमा चार वटा पदमार्ग निर्माण गरिने भएको छ । 

स्विस सरकार विकास सहयोग परियोजना अन्तर्गत एक अर्ब ३५ करोड १५ लाख, कोशी प्रदेश सरकारको ४५ करोड ८७ लाख र २९ वटा पालिकाको ४४ करोड ६७ लाख लागतमा चार वटा पदमार्ग निर्माण गरिने भएको हो ।

चार वर्षे परियोजना सञ्चालनका लागि कोशी प्रदेश सरकार र स्विस दूतावासबीच सम्झौता भएको छ ।  परियोजना अन्तर्गत चियाबारी पदमार्ग (इलाम-फिक्कल-श्रीअन्तु ), फाल्गुनन्द पदमार्ग (फिदिम- छिन्ताप्पु-सन्दकपुर-माइपोखरी-इलाम),  लालिगुँरास पदमार्ग (लुम्लिङ्टार-खादबारी-नुम-गुफापोखरी-बसन्तपुर-जलजले-तीनजुरे मिल्के), मुन्दुम पदमार्ग (तावाभन्ज्यनङ-टेम्केडाडा-हासपोखरी-साल्पा पोखरी- सिलिचुङ चुली) पदमार्ग निर्माण हुनेछ । 

२९ वटा पालिकामा निर्माण हुने चार वटा पदमार्ग ४०० किलोमिटरको हुनेछ ।

परियोजनाबाट १ लाख स्थानीयले प्रत्यक्ष रूपमा लाभ लिने अनुमान गरिएको छ । पदमार्गको निर्माण तथा पुनः निर्माणका क्रममा ४ लाख दिन बराबरको रोजगारी सिर्जना गर्ने प्रदेश सरकारले जनाएको छ।  

१ हजार जनालाई पर्यटन सम्बन्धी सीप विकासका लागि तालिम दिइनेछ । पदमार्गमा होमस्टे, लज र अन्य आतिथ्य सेवाको विकास गर्ने लक्ष्य रहेको बताइएको छ । चार वर्षको अवधिमा आन्तरिक तथा बाह्य गरि ७८ हजार पर्यटकले पदमार्ग क्षेत्र भ्रमण गर्ने अनुमान गरिएको छ । पालिकाहरूसँग प्रदेश सरकारले सम्झौता समेत गरेको छ ।

सम्झौता हस्ताक्षरका क्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश विकासको मुख्य आधार पर्यटन रहेको बताए । चार वटा पदमार्ग पर्यटन क्षेत्रमा गेम चेन्जर परियोजना बन्ने बताए । 

विश्वलाई चिनाउनका लागि पर्यटन क्षेत्र महत्त्वपूर्ण हुने उनको भनाइ छ । २०८२ साललाई पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले पदमार्गले थप टेवा पुग्ने विश्वास गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्