
एमाले केन्द्रिय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेलले एमाले र माओवादी केन्द्रबीचको एकतालाई कसैले रोक्न नसक्ने बताएका छन् । उनले दुवै दलको आवश्यकता भएका कारण पनि यो एकता प्रक्रिया टुंगोमा पुग्ने बताए । लोकान्तरसँगको कुराकानीमा बौद्धिक नेता डा. पुष्प कँडेलले एक्लै कराउँदा राष्ट्रियता र लोकतन्त्रको सम्बद्र्धन गर्न नसकिने भएका कारण त्यसको रक्षाका लागि एकता आवश्यकता भएको बताए ।
को हुन् कँडेल ?
नेकपा एमालेका नेता कडेलले झण्डै ३ दशक एमालेको आर्थिक नीति निर्माणमा खर्चिएका छन् । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सूचीमा अटाएका कँडेलले पार्टीत्रिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका कारण पार्टीले सम्मान गरेको बताए ।
उनले कतिपय अवस्थामा भने स्थान नपाएको बताएपनि त्यसको लागि समय आउँने तर्क गरे । ‘आफूले धेरै चाहना पनि नगरेकाले सार्वजनिक पद धारण गर्न नपाएको हुँ तर पार्टीभित्रका हेभिवेटहरुले समेत कतिपय अवस्थामा ठाउँ पाएका छैनन् । म जुनियर नै हुँ ।’
एमाले केन्द्रिय लेखा आयोगका अध्यक्ष रहेका कँडेल २०४९ सालदेखि लेखा आयोगका सदस्य थिए । आर्थिक विश्लेषकका रुपमा पनि चिनिएका कँडेल देशको सम्बृद्धिका लागि भ्रष्ट्राचार अन्त्य र आर्थिक पारदर्शिता नै मूल कुरा भएकोमा जोड दिन्छन् ।
वाम गठबन्धनबारे कँडेलको धारणा
वाम गठबन्धन अहिलेको राजनीतिक अवस्थामा निकै सकारात्मक कदम भएको दाबी गर्दै कँडेलले भने, ‘हामी कम्न्युनिष्ट पार्टी एक आपसमा झगडा गरिरहने अरुले मिलेर खाइरहने भयो । त्यसैले हामी मिल्नुपर्ने नै हुन्छ । हाम्रो मूल उद्देश्य रुपान्तरण नै हो । एक्ला एक्लै कराउँदा राष्ट्रियता र लोकतन्त्रको सम्बद्र्धन गर्न सकिएन, त्यसैले हामी मिल्नुपरेको हो ।’
एकता सम्भव छ त ? ‘हाम्रो एकिककरण सम्भव छ, यो हाम्रो पनि आवश्यकता हो, अझै ठूलो आवश्यकता माओवादी केन्द्रलाई हो, दुबै पार्टीले केही न केही कुरामा कम्प्रमाइज त गर्नैपर्छ तर हामी एकता गरेरै छोड्छौं, सामान्यतया हाम्रो आन्तरिक तयारी पनि भइरहेको छ ।’
बाबुराम भट्टराई गठबन्धनमा आउनु र जानुले खास फरक नपर्ने बताउँदै कँडेलले भने, ‘उहाँ जसरी आउनुभाथ्यो त्यसरी नै जानुभयो,उहाँ आउनु र जानुले खास फरक पर्दैन ।’
कमन्युनिष्ट पार्टी एक हुनुपर्ने आवश्यकताको बोध सबैलाई हुनु नै वाम एकताको आधारबिन्दु भएको उनको भनाइ छ । संविधान बन्दा त्यसमा मतभिन्नता त एकदमै कम रह्यो, संबिधानले मार्गदर्शन गरेको कुरामा हाम्रो मतभिन्नता छैन, नीति भन्दा नेतृत्व ठूलो भन्ने मानसिकतामा हिँडिरहँदा राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्न सक्दैनौं कि भन्ने बोध हामीलाई हुँदा हामी एकिकरणको गम्भीर र ऐतिहासिक अवस्थामा आइपुगेका हौं ।’
यद्यपि काँग्रेससँग मिलेर एमाले कमजोर हुन्छ कि भन्ने डर पनि तत्काल माओवादी केन्द्रसँग मिल्नु भएको उनले स्वीकार गरे । उनले भने, ‘तत्काल निर्वाचनको हिसाबले हेर्दा एमालेलाई पनि माओवादी केन्द्र काँग्रेससँग मिले हामी कमजोर हुन्छौं कि भन्ने डर पनि भयो तर माओवादी केन्द्र पनि कमजोर भएकाले उसलाई पनि साथ चाहिएको छ ।’ उनले थपे, ‘हामीलाई सत्ताको लोभ भएर पनि हैन, माओवादी केन्द्रसँग मिलेर फेरी कांग्रेस पहिलो भयो भने उसले सरकार चलाउँछ अनि अहिलेको जस्तै जम्भो मन्त्रिमण्डल बनाउँछ, त्यो हुन नदिन पनि केही त्याग गर्दै हामीले एकताको निधो गरेका हौं ।’
‘एमालेलाई ठूलो पार्टीको दम्भ, माओवादी केन्द्रलाई आफ्नो अस्तित्वको चिन्ता’ उनको बुझाईमा चुनाव चिन्ह एउटै हुन नसक्नुको एउटै कारण हो ।
एकताको लागि ठूलो अभ्यास नै निर्वाचनमा भएको उनको भनाई छ । ‘कार्यकर्तास्तरमा चुनावमा एकअर्का पार्टीलाई भोट हाल्न लगाएर हामी एकै हौं भन्ने अभ्यास गराउनका अगि नै चुनावको मुखमा गठबन्धन र एकताको घोषणा गरिएको हो ।’
चुनावमा गठबन्धनले केही असर भने पार्ने उनको ठम्याई छ । उनी भन्छन्, ‘केन्द्र एक र प्रदेशमा एक गरी छुट्टाछुट्टै पार्टीको उम्मेद्वार बनाउँदा मान्छे अलमलमा परेर भोट बदर हुने सम्भावना छ भने केही मतादाताले आफ्नो पुरनो बानी छोड्न नसक्दा भोट नहाल्ने अवस्था रहन सक्छ, यसले केही असर त दुबै पार्टीलाई पर्छ ।’
माओवादीलाई उग्रवादी भन्ने एमालेले माओवादीका तिनै उग्रहरुलाई कसरी व्यवस्थापन गर्ला त ? हाम्रो प्रश्नमा उनले हाँस्दै उत्तर दिए, ‘हामीले एक अर्का पार्टीलाई गाली नगर्ने, एकअर्काको गलत टिप्पणी नगर्ने भन्ने सहमति नै भइसकेको छ ।’ उनले थपे, तर हिजो माले र एमाले छुटिट्दा एकअर्कालाई शत्रुपूर्ण व्यवहार गरेकै हो त्यसैले एकअर्का शत्रु हुन सकिन्न राजनीतिमा, त्यसैमा पनि हामी कम्न्युष्टिहरु छिटो तात्ने छिटो सेलाउने नै हो ।’
हिजो माक्र्सवादी र मालेको एकताको अवस्था स्मरण गर्दै कँडेलले अहिलेको वाम एकताको अवस्था पनि त्यही भएको बताए । ‘केही एमालेले पनि त्याग गर्नुपर्छ, केही माओवादी केन्द्रले त्याग गर्नुपर्छ यसलाई हामी मिलाउँछौं । एकताका क्रममा कतिपय कार्यकर्ता रुष्ट पनि होलान् तर महान उद्देश्यका लागि केही त्याग गर्नुपर्छ भन्ने अभियानमा हामी लागेका छौं ।’
दुई पार्टीबीचका असमानताले एकता भइहाले पनि बचिमै लडिने त हैन ? ‘यो हुनै सक्दैन, एकटा महान धेय बोकेर हिडिरहँदा कतै सानातिना खाल्डाखुल्डी त हुन्छ नै तर त्योसँग हामी कुनै पनि हालतमा डराउँदैनौं ।’