
अभिनेत्री तथा गायिका सेलेना गोमेजले गीतकार बिन्नी ब्लाङ्कोसँग आफ्नो इन्गेजमेन्टको घोषणा गरेकी छन् ।
आफ्नो इन्स्टाग्राममा एक तस्बिर पोस्ट गर्दै उनले 'सधैंको यात्रा शुरू' क्याप्सन लेख्दै इन्गेजमेन्टको पुष्टि गरेकी हुन् ।
यो खबरपछि पप स्टार टेलर स्विफ्ट लगायतका चर्चित हस्तीहरूले उनलाई बधाइ दिएका छन् । सेलेनाले आफ्नो इन्स्टाग्राममा इन्गेजमेन्टको केही तस्बिर र भिडियो पनि शेयर गरेकी छन् ।
इन्स्टाग्राममा उनका ४२ करोड भन्दा बढी फलोअर छन् । त्यहाँ पोस्ट गरिएको एक भिडियोमा उनले उनले आफ्ना आफन्तसँग भिडियो कल गर्दै औँठी देखाइरहेको दृश्य देखिन्छ ।
टेलर स्विफ्टले उनको पोस्टमा प्रतिक्रिया दिँदै 'म तिम्रो लागि फूल बोक्ने मान्छे बन्छु' भनेकी छन् । र्यापर कार्डी बी, अभिनेत्रीहरू ग्विनिथ पाल्ट्रो, जेनिफर एनिस्टन, सुक्की वाटरहाउस र गायक लिल नास एक्सले पनि गोमेजलाई शुभकामना दिएका छन् ।
गोमेज र ब्लाङ्कोले सन् २०१९ मा 'आइ क्यान्ट गेट इनफ' र २०२३ मा 'सिंगल सून' जस्ता गीतमा सहकार्य गरेका थिए । उनीहरूले आफ्नो प्रेम सम्बन्धको पुष्टि भने गत वर्ष मात्र गरेका थिए ।
अमेरिकाको टेक्सासमा जन्मिएकी गोमेजले बाल कलाकारका रूपमा बार्नी र डिज्नी च्यानलमा आफ्नो करियर शुरू गरेकी थिइन् ।
पछि गायन र अभिनयमा पनि उनले सफलता हासिल गरिन् । ब्लूमबर्गको रिपोर्टअनुसार यसै वर्ष उनले आफ्नो रेयर ब्युटी मेकअप कम्पनीबाट एक अर्ब डलरबराबरको सम्पत्ति जोडेकी छन् ।
सन् १९९२ मा जन्मिएकी गोमेज १८ वर्षकै उमेरमा गायक जस्टिन बिबरसँग प्रेम सम्बन्धमा रहेकी थिइन् ।
उनीहरूले किशोरावस्थामा डेटिङ सुरु गरेका थिए र प्रशंसकहरूले उनीहरूलाई 'जेलिना' भनेर चिन्थे । उनीहरूको सम्बन्धमा धेरैपटक ब्रेकअप र पुनर्मिलन भएको अमेरिकी मिडियाहरू बताउँछन् ।
उनीहरूको सम्बन्ध २०१८ को जुनमा टुंगिएको थियो । त्यसपछि बिबरले हेली बाल्डविनसँग विवाह गरेका थिए ।