
पूर्व-पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका–६ दुधराक्षमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अर्का १ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सैनामैना–६ दुधराक्षकै अन्दाजी ३५ वर्षीय लक्ष्मी भट्टराई रहेकी प्रहरीले जनाएको छ ।
शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ९१ प ११८४ नम्बरको मोटरसाइकल र उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स्कुटर एकआपसमा ठोक्किएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
दुर्घटनामा स्कुटर चालक भट्टराईको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक कपिलवस्तुको बुद्धभूमि नगरपालिका- ३ का २१ वर्षीय दिलीप थारू घाइते भएका छन् ।
घाइते थारूको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।